प्रधानमन्त्री ओली चीन भ्रमण सकेर स्वदेश फर्किए (तस्बिरहरु)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सकेर आज (बुधबार) स्वदेश फर्किएका छन् ।
चीनको शांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली गत शनिबार चीन प्रस्थान गरेका थिए । पाँच दिने भ्रमण सकेर प्रधानमन्त्री ओली आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
प्रधानमन्त्री ओलीलाई विमानस्थलको विशिष्ट कक्षमा उच्च अधिकारीहरूले स्वागत गरेका थिए ।
चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन लगायतका नेताहरूसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । सम्मेलनकै अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि ओलीले संक्षिप्त कुराकानी गरेका थिए । यद्यपि ओली र मोदीबीच औपचारिक बैठक भने भएको थिएन ।
प्रधानमन्त्रीको यो भ्रमणलाई क्षेत्रीय सहयोग, पारस्परिक सम्बन्ध सुदृढीकरण र कूटनीतिक सक्रियताको दृष्टिकोणले महत्वपूर्ण मानिएको छ ।









