माओवादी केन्द्रले पदाधिकारी बैठक, के छन् एजेन्डा ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को महत्वपूर्ण पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको छ । बैठक स्थायी कमिटीका निर्णयहरू, आगामी राजनीतिक अभियान र उपमहासचिव जनार्दन शर्माले उठाएका नेतृत्व परिवर्तन तथा कार्यशैलीका विषयमा केन्द्रित हुने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

प्रवक्ता सापकोटाका अनुसार, बैठकमा यसअघि सम्पन्न स्थायी कमिटी बैठकमा भएका निर्णयहरूको विस्तृत समीक्षा गरिनेछ । विशेषगरी, भदौ २१ गतेदेखि सुरु गर्ने भनिएको मध्यपहाडी लोकमार्ग जागरण अभियानको तयारी र त्यसको प्रभावकारी कार्यान्वयनका विषयमा गम्भीर छलफल हुनेछ । ‘हामीले मध्यपहाडी लोकमार्ग जागरण अभियानलाई सफल बनाउन आवश्यक रणनीति तय गर्नेछौं,’ सापकोटाले भने, ‘अन्य समसामयिक राजनीतिक विषयहरूमा पनि छलफल हुनेछ ।’

बैठकको अर्को महत्वपूर्ण एजेन्डा उपमहासचिव जनार्दन शर्माले पार्टी नेतृत्व र त्यसको कार्यशैलीबारे उठाएका असन्तुष्टिहरू रहेको बताइएको छ । पार्टीभित्रबाटै उठेका यी प्रश्नहरूलाई पदाधिकारी बैठकबाटै सम्बोधन गर्ने माओवादी केन्द्रको तयारी छ ।

यसअघि, माओवादीको स्थायी कमिटी बैठकले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग एकता गर्ने महत्वपूर्ण निर्णय गरेको थियो । भोलिको पदाधिकारी बैठकमा यो एकता प्रक्रियालाई थप अगाडि बढाउने रणनीतिबारे पनि छलफल हुन सक्ने सम्भावना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − fifteen =