भूमि विधेयकमा विरोध गरेर बस्नु हुँदैन : सांसद भट्टराई

काठमाडौं । राष्ट्रिय सभा सदस्य गोपाल भट्टराईले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा विरोध गरेर बस्ने अवस्था नरहेको बताएका छन् ।
राष्ट्रिय सभामा मंगलवार विधेयकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । उनले भूमिहिन सुकुम्वासीहरुको व्यवस्थापन गर्ने भनेर राजनीतिक नारा लगाउने तर नियमन गरेर टुंगो लगाउने कुरामा कहिल्यै सहमत नहुने परिस्थितिको अन्त्य गर्न जरुरी रहेको बताए ।
यो विधेयकले भूमिहिन सुकुम्वासीका समस्या समाधान गर्ने विश्वास व्यक्त गरे । विधेयकले भूमिहिन सुकुम्वासी, दलित लगायतहरुलाई एक पटक भूमिको मालिक बनाउने वा जग्गा उपलब्ध गराउने लक्ष्य बोकेको बताए ।
उनले भने, ‘लामो समयदेखि भूमिहिन सुकुम्वासी, दलित लगायतहरुलाई एक पटक भूमिको मालिक बनाउने वा जग्गा उपलब्ध गराउने कुरा यो विधेयकले यही कुरालाई बोकेको छ । धेरै वर्षदेखि हामीले भूमिहिन सुकुम्वासीहरुको व्यवस्थापन गर्ने, राजनीतिक नारा लगाउने, नियमन गरेर टुंगो लगाउने कुरामा सहमत कहिल्यै नहुने अवस्था भयो । यो विधेयकले त्यो समस्या समाधान गर्दछ । यो विरोधले काम गर्दैन । विधेयकलाई अघि बढाउनुपर्छ । नियमन गरेर अघि जानुपर्छ ।’
सांसद भट्टराईले दलित र भूमिहीनहरूको समस्या पनि ज्युँकात्युँ रहेको बताए । यी सबै समस्या समाधान गर्न विधेयक सक्षम हुने जिकिर गरे ।








