समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभाका सांसदहरूले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले सडक निर्माण, किसानका लागि मल र सिँचाइको व्यवस्थालगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सांसद गोमादेवी तिमिल्सिनाले नारायणघाट–काठमाडौँ सडक खण्डको सुधार गर्न सरकारको ध्यानाकर्षण गराइन् । उनले भनिन्, ‘म हिजो मात्रै नारायणघाटबाट काठमाडौँ आउँदै थिए, बाटोको हालत बिजोग छ, ६ महिनाअगाडि राम्रै थियो, तर अहिले खाल्डाखुल्टी मात्रै छ, पहिला ५ घण्टामा काठमाडौँ पुगिन्थ्यो, अहिले आठ घण्टामा पनि पुग्न कठिन छ, यो बाटो सुधारका निम्ति म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
सांसद नरबहादुर विष्टले पछिल्लो समय भएको ‘भिजिट भिसा’ प्रकरणबारे सरकारसँग जवाफ माग गरे । ‘पछिल्लो समय फेरी भिजिट भिसाको विषय उठेको छ, यसबारेमा गृहमन्त्री रमेश लेखकले सदनमा जवाफ दिनुपर्छ,’ उनले भने ।
सांसद भुवनबहादुर सुनारले सरकारले विद्यालय शिक्षा विधेयक गत असार १५ गतेभित्र पारित हुन्छ भने पनि अहिलेसम्म राष्ट्रियसभामा आएको छैन किन ? भन्दै सरकारसँग प्रश्न गरे ।
सांसदहरू सुरेशकुमार आले मगर, नारायणदत्त मिश्र, मदनकुमारी शाह (गरिमा) र राजेन्द्रलक्ष्मी गैरेले बाढी, पहिरो, महङ्गी, शान्ति सुरक्षालगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए ।








