थकाइ मार्न कुवेतमा नेपालीहरूले खाइरहेका छन् विषालु मदिरा

काठमाडौँ । केही समयअघि कुवेतमा विषादीयुक्त मदिरा सेवनका कारण १२ जना नेपालीको मृत्यु भएको र करिब ४० जना बिरामी परेर अस्पताल भर्ना भएको खबर सार्वजनिक भयो । कुवेतस्थित नेपाली दूतावासले साउन ३० गते एक प्रेस विज्ञप्ति जारी गरी घटनाबारे पुष्टि गरेको थियो ।

तर, कुवेतमा यसरी सजिलै मदिरा किन्न र पिउन पाइँदैन । उसो भए नेपालीहरू मदिराको नाममा कुन विषालु पदार्थ सेवन गरिरहेका छन् त ? रिपोर्टहरूका अनुसार नेपालीहरूले मिथानोल मिश्रित विषालु मदिरा सेवन गर्ने गरेका छन् । यो विषालु मदिरा सेवन गर्ने सबै नेपाली कामदार नै हुन् । उनीहरू काम पश्चात् आफूलाई आराम होस् भनी यो मदिरा सेवन गर्दछन् ।

कुवेत र अन्य खाडी मुलुकहरूमा मदिरा बिक्रीलाई गैरकानुनी मानिन्छ । त्यसकारण, कामदारहरूले लुकीछिपी बनेका नक्कली मदिरा सेवन गर्ने गरेका छन् । कलेजो रोग विशेषज्ञ डा. दिलीप शर्माका अनुसार, मदिरा उत्पादन गर्ने व्यक्तिहरू विभिन्न रसायन मिसाएर मदिरा बनाउँछन्, जसका बारेमा कामदारहरूले केही थाहा पाउँदैनन् । ‘घरेलु सामान कुहाएर निस्किने रसायनहरू र अन्य विषाक्त पदार्थहरू मिलाएर मदिरा बनाइन्छ,’ डा. शर्माले भने । उनले थपे, ‘मैले सुने अनुसार ट्वाइलेट सफा गर्ने हार्पिकसमेत मदिरामा मिसाइन्छ ।’

विषालु मदिरा सेवन गर्दा शरीरमा विभिन्न समस्या देखिन सक्छन् । डा. शर्माले भने, ‘कसैलाई जन्डिसको लक्षण देखिन्छ । कलेजोको काम प्रभावित हुँदा जन्डिस हुने जोखिम बढ्छ ।’ यस्तै, पेट फुल्ने, रगत बान्ता गर्ने, कालो दिसा हुने र रगत बग्ने समस्याहरू पनि देखा पर्न सक्छन् ।

विषाक्त मदिरा सेवन गरेपछि के गर्ने ?

डा. शर्माले सबैभन्दा पहिले मदिरा सेवन गर्न नहुने बताए । मदिरा सेवन नै स्वास्थ्यका लागि हानिकारक रहेको उनि बताउँछन् । यो सेवन नगरेर शरीरको स्वस्थ्य रक्षा गर्नुपर्ने डा.शर्मा बताउँछन् ।

यदि मदिरा सेवनपछि स्वास्थ्य समस्याहरू देखा परे भने तुरुन्त कलेजो रोग विशेषज्ञसँग परामर्श गर्नुपर्ने डा. शर्माले सुझाव दिए । ‘पेट दुख्ने, वाकवाकी लाग्ने, आँखामा जन्डिस देखिने जस्ता लक्षण भएमा कलेजोको उपचार तुरुन्त गराउनु पर्छ,’ उनले भने ।

कुवेत जस्ता खाडी मुलुकहरूमा नेपाली कामदारहरूले थकानको कारण मदिरा सेवन गर्ने प्रवृत्ति देखिन्छ । डा. शर्माले भने, ‘विषालु मदिरा सेवन गरेर उनीहरूले आराम गर्ने सोच बनाउँछन्, तर यो गलत धारणा हो । थकानको समाधान सन्तुलित भोजन र विश्राममा छ, मदिरा सेवनमा होइन ।’

सरकारले के कदम चाल्न सक्छ ?

सरकारले मदिरा सेवनलाई निरुत्साहित गर्न सचेतना कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको डा. शर्माले बताए । ‘जसरी चुरोटको बट्टामा क्यान्सरको फोटो राखिन्छ, त्यसरी मदिरा सेवनका कारण कलेजो बिग्रिन सक्ने र जन्डिस र हेपाटाइटिसको समस्या हुनसक्ने बारेमा सचेतना फैलाउनुपर्छ,’ उनले भने । साथै, उनले नेपाली कामदारहरूको स्वास्थ्य परीक्षणमा कलेजो परीक्षण अनिवार्य बनाउनुपर्ने आवश्यकता औंल्याए ।

डा.शर्माले नेपाली कामदारहरूलाई अनुशासनमा रहन सुझाव दिएका छन् । खाडी मुलुकमा मदिरा सजिलै प्राप्त गर्न सकिँदैन, र मदिरा सेवन गर्दा ज्यानको जोखिम हुने उनि बताउँछन् । त्यसैले मदिरा सेवनलाई त्याग्नुपर्छ र स्वास्थ्य परीक्षण गर्नुपर्ने उनको सुझाव छ । थकानको समय सन्तुलित खाना खाएर विश्राम गर्नु नै उत्तम उपाय रहेको उनले बताए ।

पछिल्लो समय विषालु मदिरा सेवन र त्यसका स्वास्थ्य खतराहरू नेपाली कामदारहरूको लागि गम्भीर चुनौती बनेको छ । स्वास्थ्य परीक्षण र सचेतनाका माध्यमबाट यस समस्यामा कमी ल्याउन सकिन्छ, र कामदारहरूको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न सरकार र स्थानीय निकायहरूले थप कदम चाल्नुपर्ने आवश्यकता छ ।

(कलेजो रोग विशेषज्ञ डा.दिलीप शर्मासँग गरिएको कुराकानीमा आधारित)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − three =