माधव नेपालविरुद्ध झलनाथ–घनश्याम निकट नेताहरूको छुट्टै भेला

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) भित्र गहिरिएको अन्तरसंघर्षबीच पूर्वप्रधानमन्त्री झलनाथ खनाल र महासचिव घनश्याम भूसाल निकट नेताहरूले छुट्टै भेला गरेका छन् । काठमाडौंको बानेश्वर क्याम्पसमा शनिबार सम्पन्न उक्त भेलाले पार्टी नेतृत्वमा गहिरिँदो मतभेदलाई पुनः सतहमा ल्याएको छ ।

पूर्वसचिव जीवनराम श्रेष्ठको अगुवाइमा आयोजित भेलामा पार्टीका स्थायी कमिटी सदस्य रामकुमारी झाँक्री, वरिष्ठ नेता घनेन्द्र बस्नेत, हरि पराजुली, विजय पौडेल, लक्ष्मण लम्साल, नरेश शाहीलगायत झन्डै ५० जना केन्द्रीय नेताहरूको सहभागिता रहेको स्रोतले जानकारी दिएको छ ।

भेलामा अध्यक्ष माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको पतञ्जली जग्गा प्रकरणसम्बन्धी मुद्दा, संगठन सञ्चालन, नेतृत्वको नैतिकता लगायतका विषयमा छलफल भएको जनाइएको छ ।

तर, भेलाका शीर्ष प्रेरक मानिएका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भूसाल भने उपस्थित थिएनन् । झलनाथ खनालको सचिवालयले उक्त भेलाबारे आफूहरूलाई जानकारी नै नभएको दाबी गर्दै नेता खनाल डल्लुस्थित निवासमै रहेको स्पष्ट पारेको छ ।

पार्टीका केन्द्रीय सदस्य डा. विजय पौडेलले भने आफूहरू कुनै पक्ष वा विपक्षमा जुटेको नभई पार्टीको भावी रणनीतिमाथि छलफल गर्न भेला भएको स्पष्टीकरण दिएका छन् । उनले फेसबुकमार्फत् लेखेका छन्, ‘पार्टीभित्र नीति, सिद्धान्त र कार्यशैलीमा सुधार आवश्यक भएको भन्दै चिन्तित साथीहरूको साधारण छलफल मात्र हो ।’

एकीकृत समाजवादीभित्र अध्यक्ष नेपाल र सम्मानित नेता खनालबीच पछिल्ला दिनमा बढ्दो असहमति देखिएको छ । पतञ्जली प्रकरणपछि खनालले सार्वजनिक रूपमा नेपाललाई पद छाड्न आग्रह गरेका थिए, जसपछिको आरोप–प्रत्यारोपले पार्टीमा गम्भीर दरार देखाएको हो ।

युवा संघ र अनेरास्ववियूमा पहिले नै समानान्तर संरचना बनेको एकीकृत समाजवादीमा अब केन्द्रीय तहमै गुटगत रणनीति अघि बढ्ने संकेत देखिएको छ ।

पार्टीले भदौ २५ गते सचिवालय, २६ गते स्थायी कमिटी र २७ गतेबाट केन्द्रीय कमिटीको बैठक बोलाएको छ । शनिबारको यो छुट्टै भेला त्यसको पूर्वतयारीस्वरूप भएको बताइएको छ । तर यसले पार्टी एकताको वर्तमान अवस्थामाथि भने थप प्रश्नचिह्न खडा गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 8 =