सूर्यकुण्ड हाइड्रोको माथिल्लो तादी खोला जलविद्युत व्यवसायिक उत्पादन सुरु

काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकामा निर्माण सम्पन्न गरेको ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजनाले औपचारिक रुपमा व्यवसायिक उत्पादन सुरु गरेको छ ।

कम्पनीका अनुसार आयोजनाले असार १८ गते निर्माण सम्पन्न गरी १५ दिनको सफल परीक्षण सञ्चालन सकेको थियो ।

परीक्षण चरण सफलतापूर्वक सम्पन्न भएपछि आयोजनाले साउन १२ गते देखि नियमित रुपमा राष्ट्रिय प्रसारण प्रणालीमा बिजुली आपूर्ति गर्दै आयोजनाको व्यापारिक उत्पादन सुरुथालेको हो ।

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड उर्जाको विकास र सञ्चालन गर्ने उद्देश्यले स्थापना भएको कम्पनी हो । यस कम्पनीमा अपि पावर कम्पनी लिमिटेडको बहुमत सेयर लगानी रहेको छ ।

आयोजनाले ३ चैत्र २०६८ मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता गरेको थियो ।

ऊर्जा मन्त्रालयबाट आवश्यक वातावरणीय प्रारम्भिक अध्ययन (IEE) २०८१ असोज ८ गते स्वीकृत भएको थियो । त्यस्तै,ऊर्जा मन्त्रालयको विद्युत् विकास विभागबाट २०७२ असोज २२ गते उत्पादन इजाजतपत्र प्राप्त भएको थियो ।

भौगोलिक दृष्टिले यो परियोजना वाग्मती प्रदेश, नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकामा अवस्थित छ ।

परियोजनाको इन्टेक करिब १५०० मिटर र पावरहाउस १२८२ मिटरको उचाइमा रहेको छ ।

पावरहाउसमा जडान गरिएका दुई वटा पेल्टन टर्बाइन युनिटहरू (प्रत्येक ५.५ मेगावाट) बाट कुल ११ मेगावाट उत्पादन हुनेगरी आयोजना डिजाइन गरिएको छ । डाइभर्सन बाँध र सहायक संरचना १०० वर्षको पुनरावृत्तिमा हुने बाढीलाई समेत ध्यानमा राखी डिजाइन गरिएको हो जसको परिमाण २४७ घनमिटर प्रति सेकेन्ड अनुमान गरिएको छ ।

नुवाकोट जिल्लाको समुन्द्रटार सबस्टेशनमा स्विचयार्डमार्फत जोडिएको आयोजनाबाट उत्पादित बिजुली ६ किलोमिटर लामो ३३ केभी ट्रान्समिशन लाइनमार्फत राष्ट्रिय ग्रिडमा आपूर्ति हुन थालेको छ ।

यस प्लान्टबाट वार्षिक ६१ दशमलव ३१९ गीगावाटघण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ। यसमध्ये ५० दशमलव ८९३ गीगावाटघण्टा वर्षायाममा र १० दशमलव ४२५ गीगावाटघण्टा सुख्खा मौसमी अवधिमा उत्पादन हुने अनुमान गरिएको छ ।

कम्पनीको प्राथमिक सेयर निष्कासन आइपिओको प्रक्रिया अगाडी बढिसकेको छ र नेपाल धितोपत्र बोर्ड (SEBON) को पाइपलाइनमा रहेको छ ।

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सफलतापूर्वक उत्पादन सुरु गरेको यस परियोजनाबाट वाग्मती प्रदेशसहित राष्ट्रिय विद्युत् आपूर्तिमा थप योगदान पुग्ने अपेक्षा गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =