धादिङको बादरेमोडमा सुख्खा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । लगातारको वर्षाले मुलुकका विभिन्न भागमा पहिरोको जोखिम बढाइरहेका बेला धादिङमा सुख्खा पहिरो खसेर पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । शनिबार बिहान पौने ७ बजे धादिङको बेनीघाट रोराङ गाउँपालिका-१०, बादरेमोडमा सुख्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग दुईतर्फी रूपमा अवरुद्ध भएको हो ।
पहिरोका कारण सडक पूर्ण रूपमा बन्द भएपछि काठमाडौं उपत्यका भित्रिने तथा बाहिरिने सयौं सवारी साधन र हजारौं यात्रु बाटोमै अलपत्र परेका छन् । पहिरो खसेको सूचना पाउनासाथ जिल्ला प्रहरी कार्यालय धादिङको टोली घटनास्थलमा पुगेको र सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
अवरुद्ध सडक खुलाउनका लागि डोजर र आवश्यक उपकरणसहितको टोली परिचालन गरिसकिएको र सकेसम्म छिटो राजमार्ग सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले बताएको छ । यद्यपि, पहिरोको प्रकृति हेर्दा सडक खुलाउन केही समय लाग्न सक्ने अनुमान गरिएको छ ।
यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न वा सडक नखुलेसम्म धैर्यतापूर्वक पर्खन प्रहरीले अनुरोध गरेको छ । चाडपर्व नजिकिँदै गर्दा प्रमुख राजमार्ग अवरुद्ध हुँदा यात्रुहरूले थप सास्ती भोग्नुपरेको छ ।








