आसाममाथि नेपालको शानदार जित, युवराजको कसिलो बलिङ

काठमाडौं । भारतमा जारी नेपाल ‘ए’ र आसामबीचको टी–२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेपाल ‘ए’ विजयी भएको छ ।

भारतको गुहावटीमा आज भएको खेलमा नेपाल ‘ए’ आसमसँग ९६ रनले विजयी भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १ सय ७३ रन बनाएको थियो ।

१ सय ७४ रनको लक्ष्य पछ्याएको आसाम १५.२ ओभरमा अलआउट हुँदै ७७ रन मात्रै जोड्न सक्यो । आसामका लागि रुहिनन्दन पेगुले सर्वाधिक १७ रन, शिवशङ्कर रोयले १६ तथा आकाश सेनगुप्ताले १० रन बनाए ।

बलिङतर्फ नेपालका युवराज खत्रीले चार, बसिर अहमदले तीन तथा कमलसिंह ऐरी, आकाश चन्द र विवेककुमार यादवले एक/एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७३ रनको योगफल बनाएको थियो ।

नेपालका लागि सन्दीप जोराले सर्वाधिक ३५ रनको योगदान दिए । त्यसैगरी पवन सर्राफ र देव खनालले समान ३१/३१ रन बनाए भने बसिर अहमदले २७, विवेकुमार यादवले अविजित २६ तथा आदिल आलम अन्सारीले १४ रन बनाए ।

बलिङतर्फ आसामका लागि आकाश सेन गुप्ताले तीन, अभिनव चौधरीले दुई तथा आयुशमान मालाकार र अभिलश गोगोईले एक/एक विकेट लिए ।

बिहीबार भएको पहिलो खेलमा नेपाल ‘ए’ डकवर्थ लुइस पद्दति (डिएलएस) का आधारमा आसामसँग १५ रनले पराजित भएको थियो ।

यससँगै नेपाल ‘ए’ र आसामसँगको पाँच खेलको उक्त शृङ्खलामा १–१ को बराबरी भएको छ । शनिबार तेस्रो खेल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 7 =