रास्वपाको सचिवालय बैठकले गर्यो संगठन सुदृढीकरणदेखि उपनिर्वाचनसम्मका ६ निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज सम्पन्न भएको छ ।
पार्टीको संगठन, नीति निर्माण, उपनिर्वाचन तथा कार्यविधि सम्बन्धमा निर्णय गर्दै बैठकले छवटा महत्वपूर्ण विषयमा सहमति जनाएको छ ।
रास्वपाले जारी गरेको विज्ञप्तिअनुसार बैठकले निम्न निर्णयहरू गरेको छः
१. संगठन र समसामयिक गतिविधिः
बैठकमा पार्टीको संगठनात्मक गतिविधि, प्रशिक्षण कार्यक्रम तथा हस्ताक्षर अभियानबारे छलफल भएको छ। आगामी कार्यक्रमहरू थप प्रभावकारी बनाउने विषयमा समेत विचार विमर्श भएको जनाइएको छ ।
२. केन्द्रीय विभागहरूलाई सक्रिय बनाउनेः
केन्द्रीय संगठन, प्रशिक्षण, प्रचारप्रसार तथा प्रवास नेपाली सम्पर्क विभागलाई थप गतिशील र प्रभावशाली बनाउने निर्णय गरिएको छ ।
३. संगठन सुदृढीकरणको रणनीतिः
प्रदेश, जिल्ला तथा स्थानीय तहको संगठनलाई रणनीतिक रूपमा सुदृढ बनाउने लक्ष्यसहित वडा, पालिका र जिल्ला अधिवेशन तोकिएको समयमा सम्पन्न गर्न प्रदेश इन्चार्जहरूलाई आवश्यक अख्तियारी दिने निर्णय गरिएको छ। साथै, संगठन सुदृढीकरणका लागि रणनीतिक प्रस्ताव तयार गरी सचिवालयमा पेश गर्न निर्देशन दिइएको छ ।
४. रूपन्देही–३ उपनिर्वाचनबारे निर्णयः
रूपन्देही–३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन प्रक्रिया लोकतान्त्रिक, पारदर्शी र जनपक्षीय हुने पार्टीले स्पष्ट पारेको छ । प्रारम्भिक चरणमा सहभागी ९ उम्मेदवारप्रति आभार व्यक्त गर्दै सामाजिक आचारसंहिताभित्र रही सहभागी हुन सबैलाई आग्रह गरिएको छ ।
५. कार्यविधि स्वीकृतः
‘प्रारम्भिक निर्वाचन कार्यविधि, २०८२’ र ‘वडा परिषद् कार्यविधि, २०८२’ पार्टीको औपचारिक दस्तावेजका रूपमा स्वीकृत गरिएको छ ।
६. विज्ञको संलग्नताः
कृषि, स्वास्थ्य, उद्योग, श्रम तथा सहकारी क्षेत्रमा विज्ञहरूलाई संलग्न गराई सम्बन्धित समस्या, समाधान र सुझावसहितको प्रतिवेदन तयार पार्ने निर्णय गरिएको छ । साथै, विज्ञहरूलाई राष्ट्र निर्माणमा मन, वचन र कर्मले योगदान दिन आह्वान गरिएको छ ।
रास्वपाले सबै निर्णयहरूलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्दै संगठनात्मक र नीतिगत पक्ष सुदृढ पार्न आगामी दिनमा थप सक्रियता देखाउने संकेत दिएको छ ।








