विद्या भण्डारीलाई मैले जति माया र सम्मान कसैले गरेको छैन : ओली

ओलीको प्रतिनिधिसँगको छलफलबारे भ्रामक समाचारप्रति सचिवालयको ध्यानाकर्षण

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आसन्न दोस्रो विधान महाधिवेशनको सन्दर्भमा काठमाडौँ जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरूसँग भएको अनौपचारिक छलफलबारे केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका भ्रामक समाचारप्रति आपत्ति जनाएका छन् ।

प्रधानमन्त्रीको सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उक्त कार्यक्रम कुनै प्रशिक्षण कार्यक्रम नभई महाधिवेशनको पूर्वसन्ध्यामा भएको सामान्य अनौपचारिक भेटघाट मात्र थियो ।’ साथै, भदौ ११ गते नै ललितपुर जिल्लाका पार्टी अध्यक्ष तथा पदाधिकारीसँग पनि अध्यक्ष ओलीले भेट गरेका थिए ।

सामाजिक सञ्जाल तथा केही अनलाइनहरूमा प्रचारित ‘एमालेमा मलाई धक्का दिन विद्यादेवी भण्डारीबाहेक कसैको दम छैन’ भन्ने भनाइलाई पूर्णतः मनगढन्ते र भ्रामक भन्दै सचिवालयले खण्डन गरेको छ ।

छलफलमा ओलीले वामपन्थी आन्दोलनको ऐतिहासिक संघर्ष, व्यक्तिगत स्वार्थका कारण पार्टीलाई पुगेको क्षति, पार्टी नीति र केन्द्रीय निर्णय, साथै सरकारले गरेका विकास तथा सुशासनका प्रयासबारे धारणा राखेका थिए ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नाम जोड्दै आएका समाचारलाई लिएर ओलीले असन्तुष्टि जनाउँदै भनेका थिए ‘पूर्वराष्ट्रपतिले पार्टीमा विधिपूर्वक सदस्यता नलिई मिडिया र अन्य नेतासँग सक्रिय राजनीतिका कुरा गर्नु उचित होइन । यस्तो कदमले पार्टीको एकतालाई कमजोर बनाउँछ ।’

ओलीले पूर्वराष्ट्रपतिले पार्टीमा आएर अध्यक्ष पदमा उठेमा जित्न सक्ने सम्भावना कम भएको उल्लेख गर्दै यस्ता गतिविधिले अन्ततः पार्टीको हितमा नहुने तर्क प्रस्तुत गरेका थिए ।

अध्यक्ष ओलीले भण्डारीलाई आफुले जति माया र सम्मान अरु कसैले नगरेको बताएका छन् । उनले माया र सम्मान दिँदा पनि पार्टी र नेतृत्वको विरोध गर्ने ठाउँमा कसरी पुग्नुभयो भन्ने आश्चर्यमा परेको बताएका छन् ।

‘उहाँले पार्टीमा आएपछि अध्यक्ष उठे हार्नुभयो भने त्यसपछि पार्टीको आलोचना गर्दै भीम रावललाई जस्तै स्पष्टीकरण र कारबाहीको अवस्थामा पुग्न सक्नुहुन्छ,’ ओलीले भने ।

सचिवालयले यस्ता संवेदनशील विषयलाई गलत ढंगले प्रस्तुत नगर्न, सत्यतथ्य बुझेर मात्र समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीहरू र सरोकारवालाहरूप्रति आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 7 =