बनस्थलीमा रास्वपाको सचिवालय बैठक सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक हाल पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा बसिरहेको छ ।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति, संगठन सुदृढीकरण र आसन्न उपनिर्वाचनको तयारी लगायतका विषयमा छलफल जारी छ ।

पार्टी सचिवालय स्रोतका अनुसार बैठकको कार्यसूचीमा हालै सम्पन्न हस्ताक्षर अभियान, विभिन्न प्रदेश तथा जिल्लामा भइरहेको प्रशिक्षण कार्यक्रमको प्रगति र संगठन विस्तारसम्बन्धी गतिविधिबारे जानकारी र समीक्षा गरिँदैछ ।

बैठकमा केन्द्रीय संगठन विभाग, प्रशिक्षण विभाग, अभियान तथा प्रचारप्रसार विभाग, र प्रवास नेपाली सम्पर्क विभागको क्रियाशीलता तथा भूमिकामाथि पनि गहिरो छलफल भइरहेको जनाइएको छ ।

त्यसैगरी, रूपन्देही ३ मा आसन्न उपनिर्वाचनको सन्दर्भमा उम्मेदवार छनोट प्रक्रिया अन्तर्गत मूल्याङ्कन विधिमाथि समेत बैठकमा छलफल हुने कार्यसूचीमा छ ।

सचिवालय बैठकमा प्रारम्भिक निर्वाचन कार्यविधि २०८२, वडा परिषद् तथा पालिका र जिल्ला अधिवेशन कार्यविधिको प्रारम्भिक मस्यौदा, साथै विभिन्न क्षेत्रमा विज्ञहरूको आव्हानसम्बन्धी प्रस्तावहरू पनि प्रस्तुत गरिएका छन् ।

बैठकमा प्रदेश इन्चार्जहरूको कार्यसम्पादन मूल्याङ्कनसमेत गरिनेछ । पार्टीले बैठकपछि निर्णयहरू सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − six =