कांग्रेस-एमाले मिले पनि जित्यौँ, जनताको भरोसा हामीतिरै फर्किँदैछ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीप्रति जनताको भरोसा पुनः बढ्दो क्रममा रहेको बताएका छन् । कर्णाली प्रदेशको पूर्ण बैठकलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पछिल्ला विभिन्न निर्वाचनमा कांग्रेस र एमाले मिलेर लाग्दा समेत माओवादी केन्द्रका उम्मेदवार विजयी हुनुले जनविश्वास फर्किंदै गएको प्रष्ट पारेका हुन् ।
उनले स्थानीय तह, स्ववियु, पत्रकार महासंघदेखि हालै सम्पन्न नेपाल पर्वतारोहण संघको निर्वाचनसम्मका परिणामलाई जनविश्वासको प्रतीकका रूपमा उल्लेख गरे । ‘हाम्रो पार्टी र संगठनप्रति जनताको आशा र भरोसा बढ्दो छ,’ उनले भने, ‘कांग्रेस, एमाले एकातिर र माओवादी केन्द्र एक्लै हुँदा पनि धेरै स्थानमा हामी विजयी भएका छौँ ।’
अध्यक्ष प्रचण्डले माओवादी केन्द्रको यो बढ्दो लोकप्रियताले प्रतिक्रियावादी र दलालहरूलाई आतंकित बनाएको दाबी गरे । पार्टीभित्रै द्वन्द्व सिर्जना गर्न विभिन्न षड्यन्त्रहरू भइरहेको बताउँदै उनले गुटबन्दी, अराजकता र अनुशासनहीनताको अन्त्य गरी पार्टीलाई सुदृढ र एकताबद्ध बनाउने संकल्प स्थायी समितिले गरिसकेको जानकारी दिए ।
शिक्षा विधेयक लगायतका राष्ट्रिय मुद्दामा माओवादी केन्द्रले लिएको अडानले जनस्तरमा सकारात्मक सन्देश पुगेको उनको भनाइ थियो । विशेषगरी शिक्षक समुदायमा माओवादीप्रति समर्थन बढेको उल्लेख गर्दै उनले भने, ‘कांग्रेस र एमालेको गलत सोचको विरुद्धमा हामीले लिएको अडानका कारण लाखौँ शिक्षकहरूले समर्थन देखाएका छन् ।”
प्रचण्डले वाईसीएल, विद्यार्थी संगठन लगायत जनवर्गीय संगठनहरूलाई श्रम र उत्पादनसँग जोड्ने प्रयास सफल भइरहेको दाबी गर्दै संगठन विस्तारलाई अझ तीव्र बनाउनुपर्नेमा जोड दिए । “अब घर-घरमा पुग्ने, टोल–टोलमा संगठन निर्माण गर्ने कार्यलाई तीव्र बनाउनुपर्छ,’ उनले निर्देशन दिए ।
अध्यक्ष प्रचण्डले कर्णाली प्रदेशका नेता-कार्यकर्ताहरूलाई पार्टी एकता र संगठन विस्तारमा अग्रसर भई राष्ट्रिय राजनीतिमा परिवर्तनकारी भूमिका खेल्न आग्रह गर्दै बैठकको सफलताको शुभकामना दिए ।








