न्यायको आवाजलाई बुलन्द बनाउन नयाँ पुस्तालाई साहित्य सञ्जालमा जोडौँ : शिक्षामन्त्री पन्त

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले साहित्य चिन्तनले सामाजिक न्यायको आवाजलाई बुलन्द बनाउने भन्दै नयाँ पुस्तालाई साहित्य सञ्जालमा जोड्न आह्वान गरेका छन् ।

आज आयोजित साहित्य सन्ध्या वार्षिक पुरस्कार तथा सम्मान अर्पण समारोहमा उहाँले विश्वमै आर्थिक स्वार्थले न्यायको आवाज दबाइरहेको भन्दै चिन्ता व्यक्त गरे ।

मन्त्री पन्तले विश्वमा भइरहेको अन्यायविरुद्धको आवाजलाई साहित्यका विभिन्न विधामार्फत उतार्न सकिने भन्दै नयाँ पुस्तालाई सिर्जनशील अभियानमा जोड्नुपर्ने आवश्यकता औल्याए ।

‘पछिल्लो समय न्यायप्रतिको आवाज कमजोर भएको छ । हिजो विश्व जति प्रखर भएर त्यस्ता कुराको विरोध गर्दथ्यो,आज धेरै जना मौन छौँ । आर्थिक स्वार्थहरूले यी आवाज दबिरहेका छन्’ उनले भने ‘साहित्य सञ्जाल सांस्कृतिक, वैचारिक र सृजनात्मक आन्दोलन हो । नयाँ पुस्तालाई यसमा जोड्न सक्नुपर्छ ।’

पछिल्लो समय मानविकी सङ्कायमा विद्यार्थीको घट्दो आकर्षणबारे चर्चा गर्दै मन्त्री पन्तले शिक्षालाई कसरी सीपमूलक, प्रविधिमैत्री र उत्पादनमूलक बनाउन सकिन्छ भन्नेमा सरकार केन्द्रित भएको बताए ।

‘हिजोको शिक्षा बढी ज्ञानसँग जोडिन्थ्यो, आजको शिक्षा विज्ञानसँग जोडिएको छ । यसरी ज्ञान र विज्ञानको द्वन्द्वमा हामी बढी उन्नत, चिन्तनशील र श्रमशील नागरिक कसरी जन्माउँछौँ, त्यो धेरै महत्त्वपूर्ण कुरा हो’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − nine =