नेपालको संघीयता नक्कली हो, सरकारमा बस्नुको औचित्य सकियो : उपेन्द्र यादव

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा अहिले नक्कली सङ्घीयता रहेको बताएका छन् । उनले हजारौँ वर्षदेखि उत्पीडनमा परेका समुदायहरूले स्वायत्तता र सुशासन, आफ्नो प्रतिनिधित्व र स्वामित्वको अनुभूति गर्न नपाएकाले यहाँको सङ्घीयताको अर्थ नभएको बताए । सङ्घीयता भएका मुलुक संसारमा विकसित र शक्तिशाली भएको उनको भनाइ छ । भारत, अमेरिका, क्यानडा, स्वीजरल्याण्ड, युएई जस्ता ठूलाठूला शक्तिशाली मुलुकहरू सङ्घीयताकै कारणले अगाडि बढेको उनले बताए । उनले ‘सङ्घीयता नेपालमा छ र ?’ भन्दै प्रश्नसमेत गरे । सङ्घीयताले देशभित्रको विविधतालाई सम्बोधन गर्ने उल्लेख गर्दै उनले हाल नेपालमा भएको सङ्घीयताले यहाँको विविधतालाई सम्बोधन गर्न नसकेको बताए । उत्पीडनमा परेका समुदायहरूको स्वायत्तता र स्वामित्वलाई सम्बोधन नगर्ने गरी राज्य पुनःसंरचनाको निम्ति मात्रै सङ्घीयता लागू गरिएको उनको भनाइ छ । उनले साँच्चिकै देशलाई सङ्घीयतामा लैजान आवश्यक भएको बताए । देखाउने मात्रै सङ्घीयता नभई यसलाई कार्यगत सङ्घीयताको रूपमा रूपान्तरण गर्नु आजको आवश्यकता रहेको उनको भनाइ छ ।

उनले भने, ‘सङ्घीयता नेपालमा छ र ? यो नक्कली सङ्घीयता हो । सङ्घीयता भएका मुलुक त संसारका विकसित र शक्तिशाली छन् त । भारत, अमेरिका, क्यानडा, स्वीजरल्याण्ड, युएई जस्ता ठूलाठूला शक्तिशाली मुलुकहरू सङ्घीयताकै कारणले अगाडि बढेका हुन् । सङ्घीयताले नै त्यहाँको विविधतालाई सम्बोधन गर्छ । अहिलेको नेपालको सङ्घीयता नक्कली सङ्घीयता हो । यसले यहाँको विविधतालाई सम्बोधन गर्न सकेको छैन । हजारौँ वर्षदेखि उत्पीडनमा परेका समुदायहरूले स्वायत्तता र सुशासन, आफ्नो प्रतिनिधित्व र स्वामित्वको अनुभूति गर्न पाएका छैनन् भने सङ्घीयताको के अर्थ हुन्छ र ? त्योचाहिँ नगर्ने गरी राज्य पुनःसंरचना गरे । त्यसकारण हामी के भन्छौँ भने साँच्चिकै सङ्घीयतामा लैजाऔँ यसलाई । यो देखाउने मात्रै सङ्घीयता होइन कि कार्यगत सङ्घीयताको रूपमा यसलाई कसरी रूपान्तरण गर्ने, त्यो आजको आवश्यकता हो ।’ उनले प्रमुख राजनीतिक दलहरूले सङ्घीयतालाई सहज रूपमा नलिएका कारण यसको सही कार्यान्वयनमा समस्या देखिएको बताए ।

सात बुँदे सहमति कार्यान्वयन गर्न काँग्रेस-एमाले नै तयार देखिएनन्
अध्यक्ष यादवले वर्तमान सरकार गठनको बेला नेपाली काँग्रेस र एमालेबीच भएको सात बुँदे सहमति कार्यान्वयनमा दुवै दल तयार नदेखिएको आरोप लगाएका छन् । दुई दलबीचमा भएको समझदारीमा सुशासन, अर्थतन्त्रलाई सुधार र संविधान संशोधन जस्ता महत्त्वपूर्ण पक्ष रहेको उनको भनाइ छ । तर त्यसलाई कार्यान्वयन गर्न वर्तमान सरकार र सत्तारुढ दल प्रतिबद्ध नरहेको उनले बताए । देशको अर्थतन्त्र झन् सङ्कटग्रस्त हुँदै गएको उनको भनाइ छ । संविधान संशोधनका मुद्दा पनि छायामा परेको उनले बताए । दुई दलबीच भएको समझदारी र प्रतिबद्धता पूरा गर्न सहज बनाउनका लागि आफूहरूले सरकारलाई समर्थन दिएको उनले जानकारी दिए ।

उनले भने, ‘सात बुँदे समझदारी हामीसँगको होइन, सरकार निर्माण गर्ने बेलामा नेकपा एमाले र नेपाली काँग्रेस बीचको समझदारी हो । त्यही समझदारीको पनि कार्यान्वयन हुनुपर्थ्यो नि । त्यहाँ महत्त्वपूर्ण कुरा के थियो भने सुशासन दिने भनेको थियो । अहिले सुशासनको के अवस्था छ, त्यो हजुरहरूलाई थाहा छ । अर्को पक्ष थियो देशको अर्थतन्त्रलाई सुधार्ने । देशको अर्थतन्त्र कति सुधारियो, कति सुध्रियो ? अझ झन् म त देख्छु, सङ्कटग्रस्त हुँदै गएको छ । अर्को थियो संविधान संशोधन गर्ने कुरा, अब संविधान संशोधन गर्ने कुराको अत्तोपत्तो छैन । यी लगायतका कुराहरू जो प्रतिबद्धता उहाँहरूका थिए, त्यो प्रतिबद्धता पूरा गरोस् भनेर हामीले समर्थन गरेको हो । उहाँहरूले त्यसमा गरेको देखिएन । अब पनि समय छ, गरोस् भन्ने चाहन्छौँ, हामी ।’उनले  अझै पनि काँग्रेस र एमालेबीच भएको समझदारी कार्यान्वयन गर्न समय रहेको बताए । त्यसलाई कार्यान्वयन गर्न उनले आग्रह गरे ।

सरकारमा बसिरहनुपर्ने कुनै औचित्य नदेखेपछि समर्थन फिर्ता
सरकारमा बसिरहनुपर्ने कुनै औचित्य नभएपछि जनता समाजवादी पार्टी, नेपालले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको अध्यक्ष यादवले बताए । उनले आफूहरूले समर्थन फिर्ता लिँदैमा सरकारलाई कुनै असर नपर्ने पनि बताए । जसपा नेपालको समर्थन फिर्ताले सरकार ढल्ने, प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने लगायतका अवस्था नै नभएको उनको भनाइ छ । सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि सरकारले गर्ने राम्रा, देशहितका काममा भने सहयोग गर्ने उनले बताए ।

उनले भने, ‘हामीले एक वर्षसम्म समर्थन गर्‍यौँ । फेरि पनि हामीले के भनिराखेका थियौँ र छौँ भने सरकारले गर्ने राम्रा काम, देशहितका काममा हामी सहयोगी हुन्छौँ । तर हामी न सरकारमा छौँ न प्रतिपक्षमा थियौँ त्यो बेला । अनि यस्तो स्थितिबाट हामीले सरकारको विपक्षमा नै बसेर राम्रा काममा सहयोग गर्ने, रचनात्मक सहयोग गर्ने र देशहितमा नभएका कुराहरू औँल्याउने हाम्रो कर्तव्य हो । त्यसकारण हामीले भूमिका मात्रै बदलेको हो । हामी सरकारमा त थिएनौँ । हाम्रो समर्थन फिर्ताले सरकार ढल्ने पनि होइन । हामी सरकारमा नभएको कारणले सरकारले विश्वासको मत लिनुपर्ने जरुरत पनि छैन । फेरि हाम्रो समर्थन उहाँहरूलाई चाहिएको पनि होइन । हामी सरकारमा बसिरहनुपर्ने कुनै औचित्य थिएन । हामीलाई जनताले प्रश्न गर्थे नि किन बसेको सरकारमा ? कि त सरकारमा सहभागी हुन्छ, कि त विपक्षमा हुन्छ । बीचमा कति दिन बस्ने हो ? बीचमा त बसियो एक वर्ष, बढो गाह्रो गरी । अब एक पक्षमा बस्ने हो ।’

आफूहरू सरकारमा बसिरहेको भए जनताले किन सरकारमा बसेको भनेर प्रश्न गर्ने उनको भनाइ छ । एक वर्ष पनि बढो गाह्रो गरी सरकारमा बसेको उनले बताए ।

भूमि विधेयक बिचौलिया र जग्गा दलालको पक्षमा
जसपा, नेपालका अध्यक्ष यादवले सरकारले भूमाफियाहरूलाई सहयोग हुनेगरी भूमिसम्बन्धी विधेयक ल्याएको बताएका छन् । वन फँडानी गरेर बिचौलिया, जग्गा दलाल र माफियाहरूलाई जग्गा दिनेगरी सरकारले विधेयक ल्याएको उनको आरोप छ । नेपाल पर्यावरणीय जोखिममा रहेको उल्लेख गर्दै उनले वन जोगाउनुपर्नेमा वन फँडानी गर्नेलाई लालपुर्जा दिनेगरी ऐन बनाउन खोजिएको उनले बताए । ‘त्यसले वन संरक्षण हुन्छ ?’, उनले प्रश्न गरे । वन विनाश भए मुलुक मरुभूमीकरण भएर जाने उनको भनाइ छ । सरकारले हालै नेपालमा पर्यावरणीय सङ्कट बढ्यो भनेर सगरमाथा संवाद गरेको उल्लेख गर्दै उनले पर्यावरणीय सङ्कटबाट जोगाउने उपाय वन पनि भएको बताए । वन विनाश गर्ने ऐन देश र जनताको पक्षमा नरहेकोले आफूहरूले यसको विरोध गरेको उनको भनाइ छ ।

उनले भने, ‘के वन फँडानी गरेर बिचौलियाहरूलाई, जग्गा दलालहरूलाई वा माफियालाई जग्गा दिनु उचित हो ? वन फँडानी गर्न उचित हो ? अर्को कुरा के हो भन्दाखेरि नेपाल पर्यावरणीय जोखिममा छ, सङ्कटमा छ । यहाँ वन जोगाउनुपर्ने हो । तर जो त्यस्तो ऐन छ, जहाँ वन काटेकालाई त्यसको लालपुर्जा दिने भन्ने छ । त्यसले वन संरक्षण हुन्छ ? वन विनाश भयो भने यो मुलुक मरुभूमीकरण भएर जान्छ । मधेस मरुभूमि हुन्छ । अर्को कुरा, नेपालमा भर्खरै सरकारले सगरमाथा संवाद गर्‍यो, नेपालमा पर्यावरणीय सङ्कट बढ्यो भनेर । पर्यावरणीय सङ्कटबाट जोगाउने उपाय त वन पनि हो नि । महत्त्वपूर्ण क्षेत्र हो वन । अब त्यसको विनाश नहोस् भन्ने हो । वन विनाश भएर देशलाई जोगाउने, जनतालाई जोगाउनका लागि मैले यो ऐन देशहितमा अहिले देखिएन र पर्यावरण अहिले नष्ट हुन्छ । तराई, मधेस, चुरे नष्ट भएर मरुभूमीकरण हुन्छ । यो त जुनसुकै व्यक्तिले पनि, सबैले आफ्नो देशका लागि जसले सोच्दछ, जसले आफ्नो देशको नागरिकको जीवनको लागि सोच्दछ, उसले चाहिँ आँखा चिम्लेर हो मा हो त भन्न सक्दैन ।’ सरकारले हाल ल्याएको भूमिसम्बन्धी विधेयकले पर्यावरण नष्ट गर्ने, तराई, मधेस, चुरे नष्ट भएर मरुभूमीकरण हुने बताए । देशको र नागरिकको जीवनको लागि सोच्ने मान्छेले आँखा चिम्लेर सरकारको यो काममा सही थाप्न नसक्ने उनको भनाइ छ ।

मधेसवादी पार्टी फेरि जुट्ने सम्भावना
विभाजन र टुटफुटले मधेसवादी पार्टी अहिले दर्जनौँ बनेका छन् । हालै अनिलकुमार झाले नेपाल सद्भावना पार्टीलाई फेरि ब्युँताएका छन् । तर जसपा, नेपालका अध्यक्ष यादव भने मधेसवादी दल फेरि जुट्ने सम्भावना बढ्दै गएको बताउँछन् । नेपालको राजनीतिमा एकता, मिलन, विछोड यो सँगसँगै गइरहने कुरा भएको उनले बताए । फुट्ने, जुट्ने र फेरि फुट्ने यो क्रम नेपालका राजनीतिक दलहरूको विशेषता नै रहेको उनको भनाइ छ । उनले अब फेरि जुट्ने सम्भावना बढ्दै गएको बताए ।

उनले भने, ‘नेपालको राजनीतिमा एकता, मिलन, विछोड यो सँगसँगै गइरहने कुरा हो । फुट पनि भइरहेको छ, जुट पनि भइरहेको छ । जुटेर फेरि फुट्ने पनि भइरहेको छ । यो क्रम त नेपालको राजनीतिको विशेषता नै हो । कहिले मिल्ने, कहिले फुट्ने, कहिले फेरि जुट्ने । अब जुट्ने सम्भावना बढ्दै गएको छ ।’ उनले अहिलेसम्म वैचारिक, सैद्धान्तिकभन्दा पनि कार्यनीतिक सवाल, तत्कालीन समस्या र घटनाक्रमहरूबाट प्रभावित भएर पार्टी विभाजन हुने गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =