फुसको छानो हटाउने कार्यक्रम : रकम रोकिँदा लेखर्कका विपन्न परिवार समस्यामा

भोजपुर । फुसको छानो हटाउने कार्यक्रमको दोस्रो किस्ता वापतको रकम नपाउँदा यहाँ स्थित टेम्केमैयुङ–९ लेखर्काका स्थानीयवासी समस्या परेका छन् ।
सम्झौता पश्चात् पहिलो किस्ताको रकम पाएका स्थानीयले अझैसम्म दोस्रो किस्ता पाएका छैनन् ।
सघन शहरी कार्यालयमार्फत रुपैयाँ ७५ हजार पाउने गरी सम्झौता गरेर छानो फेरेको भएपनि हालसम्म पनि दोस्रो किस्ताको रकम नपाएपछि थप समस्या भएको स्थानीयवासी हर्कराज विश्वकर्माले जानकारी दिए । ‘सम्झौता गरेर ऋणकाँढेर गरेर जसोतसो छानो फेरियो’ उनले भने ‘तर हालसम्म दोस्रो किस्ता पाएका छैनौं । अहिले साहुले गर्दा घर नै छाड्नु पर्ने अवस्था छ । समयमा रकम पाए सहज हुने थियो ।’ जस्ताको छानो लगाएको एक वर्ष बढी समय हुँदा पनि दोस्रो किस्ताको रकम नआउँदा समस्या रहेको स्थानीयवासी विश्वकर्माले गुनासो गरे ।
सम्झौता अनुसार पहिलो किस्ता लिएपछि छानो फेरेका वडाका १२५ परिवारले हालसम्म दोस्रो किस्ता वापतको रकम नपाएको वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले जानकारी दिए ।
स्थानीयको समस्याको बारेमा आफूले मन्त्रालयसम्म पुगेर जानकारी गराएको भएपनि सुनुवाइ नभएको उनले बताए । ‘सम्झौता पश्चात् लाभग्राही सूचीमा परेकाहरू सबैले ऋणपान गरेर छानो फेरेका छन्’ उनले भने, ‘दोस्रो किस्ता वापतको रकम नपाउँदा गरिब तथा विपन्न परिवार समस्या भोगिरहेका छन् । मन्त्रालयमा गएर पनि जानकारी गराएको छु, । तर सुनुवाइ भएको छैन ।’
लाभग्राहीले पहिलो किस्ता बापत रुपैयाँ ४५ हजार पाएको भए पनि दोस्रो किस्ता वापतको रुपैयाँ ३५ हजार अझै नपाएको उनको भनाइ छ ।








