नेपालको राजनीतिमा उल्टोलाई सुल्टो भन्ने निर्लज्ज जमात कहिल्यै देखेको थिइन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राजनीतिमा सुल्टोलाई उल्टो र उल्टोलाई सुल्टो भन्ने निर्लज्ज जमात कहिल्यै नदेखेको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति लक्षित गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

राष्ट्रिय सूचना आयोगद्वारा मंगलवार आयोजित १९ औँ राष्ट्रिय सूचना दिवसलाई सम्बोधन गर्दै उनले ठगी आरोपमा प्रहरीले मुद्दा चलाएको, अदालतले कारागार पठाउँदा पनि गल्ती भयो भन्दै जयजयकार गर्ने जमात देख्दा अचम्म लागेको पनि बताए ।

अरू बन्दी भन्दा छुट्टै कोठामा राखिएको, छुट्टै प्रबन्ध दिएर राखेको, एसी कुलरको प्रबन्धसहित राख्दा समेत वातावरण भएन भन्ने गरिएको बताए । आफू प्रधानमन्त्री भएपछि वितण्डालाई शान्त बनाउने काम गर्दा आगो झोस्ने काम भइरहेको बताए ।

उनले भने ‘अब अहिले त के हो भने मानव अधिकारको परिभाषा, अरू अधिकारका परिभाषा, अरू बन्दी भन्दा छुट्टै एउटा बन्दी राखेको छ, छुट्टै कोठा दिएर राखिएको छ । छुट्टै प्रबन्ध दिएर राखेको छ । एसी कुलरको प्रबन्धसहित राखिएको छ । वातावरण भएन भनेर त्यतापट्टि नजाऔँ । थुनामा नराखिएका मानिसहरूको अवस्था कस्तो छ एक जनाले बोल्दै थिए । त्यस्तो अवस्थाबाट माथि उठाउनुछ । गरिबीबाट माथि उठाउनुछ । म प्रधानमन्त्री भइकन गएको एक वर्ष वितण्डालाई शान्त पार्दा यतै आगो झोसेको छ, उतै आगो झोसेको छ, यतै अराजकता, उतै अराजकता, त्यसलाई शान्त पार्दैखेरी विकासका काममा कतिपय रोकावट छ । एउटा ठगीमा प्रहरीले कारबाही गरेर मुद्दा चलाएको छ, अदालतले आदेश दिएको छ, पछाडिको जमात जयजयकार गरेर हिँडेको छ । नेपालको राजनीतिमा यति साह्रो सुल्टोलाई उल्टो, उल्टोलाई सुल्टो भन्ने निर्लज्ज जमात यस्तो अराजक जमात कहिले पनि देखेको थिएन ।’

प्रधानमन्त्री ओलीले यसबीचमा नेपालले असाधारण प्रगति गरेको दाबी गर्दै अविकसित मुलुकबाट विकासशील मुलुकमा प्रवेश गरिरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + eighteen =