एसिया कप खेल्ने भारतीय टोली घोषणा, श्रेयस अय्यर परेनन्

काठमाडौं । आगामी सेप्टेम्बर ९ बाट युएईमा सुरु हुने एसिया कप २०२५ का लागि भारतले टी–२० टोली सार्वजनिक गरेको छ ।
मंगलबार भारतीय क्रिकेट बोर्डको चयन समितिले घोषणा गरेको टोलीमा सूर्यकुमार यादव कप्तान बनेका छन् भने शुभमन गिल उपकप्तानको भूमिकामा फर्किएका छन् ।
यसअघि उपकप्तान रहेका अक्षर पटेललाई यसपटक अलराउन्डरको रूपमा समावेश गरिएको छ । गिललाई टि–२० मा पुनरागमन गराउँदै नेतृत्व सम्हाल्न पनि भूमिका दिइएको छ ।
अभिषेक शर्मा र सन्जु सामसन ओपनरका रूपमा टोलीमा परेका छन् भने गिल पनि ओपनिङका लागि बलियो दाबेदार मानिएका छन् ।
टोलीको मध्यक्रममा सूर्यकुमार यादव, तिलक वर्मा, रिंकु सिंह र जितेश शर्मा रहेका छन् । विकेटकिपरको भूमिकामा जितेश पहिलो रोजाइ हुने अनुमान गरिएको छ ।
बलिङ विभागमा जसप्रित बुमराह, अर्शदीप सिंह, कुलदीप यादव, वरुण चक्रवर्ती र हर्षित राना छन् भने अक्षर पटेल, हार्दिक पाण्ड्या र शिवम दुबे तीनजना अलराउन्डरका रूपमा टोलीमा परेका छन् ।
यशस्वी जैसवाल, प्रसिद्ध कृष्ण, वासिङ्टन सुन्दर, रियान पराग र ध्रुव जुरेल वैकल्पिक खेलाडीको सूचीमा रहेका छन् ।
आईपीएल २०२५ मा उत्कृष्ट प्रदर्शन गरेका श्रेयस अय्यर भने टोलीमा अटाउन सकेनन् । उनले १७५ को स्ट्राइक रेटमा ६०४ रन बनाउँदै पंजाब किंग्सलाई फाइनलसम्म पुर्याएका थिए ।
भारत समूह ‘ए’ मा पाकिस्तान, ओमान र युएईसँगै परेको छ । भारतले सेप्टेम्बर १० मा युएई, सेप्टेम्बर १४ मा पाकिस्तान र सेप्टेम्बर १९ मा ओमानसँग खेल्नेछ ।








