मन्त्रालयका कर्मचारीहरूको कार्यशैलीप्रति उपप्रधानमन्त्री सिंह रुष्ट

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले मन्त्रालयका कर्मचारीहरूको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् ।

सोमवार मन्त्रालयमा आयोजित शहरी विकासमन्त्री सिंह र सचिव गोपालप्रसाद सिग्देलबीचको कार्यसम्पादन सम्झौता कार्यक्रममा उहाँले कर्मचारीहरूले काम गर्नमा ढिलासुस्ती गर्ने गरेको बताएका हुन् ।

संस्थागत स्वामित्व लिएर कर्मचारीहरूले काम नगरिदिँदा धेरैजसो काममा ढिलासुस्ती हुने गरेको बताए । ऐन, नियम, कानुन, नियमावलीअनुसार गर्नुपर्ने निर्णय गर्न पनि कर्मचारीहरूले समयमा नै नगरिदिने गरेको उनको भनाई छ । कर्मचारीहरूकै कारण कतिपय कामहरू ३ वर्षमा सक्नुपर्नेमा ६ वर्ष लाग्ने, २ वर्षमा हुने काम ४ वर्षमा समेत नहुने गरेको उनले बताए । कानुनअनुसार गर्नुपर्नेमा काममा ढिलासुस्ती गर्ने, आलटाल गर्ने काम नगर्न कर्मचारहरुलाई निर्देशन समेत दिए ।

उनले भने ‘यहाँ मैले के देखिरहेको छु भने हाम्रो जुन संस्थागत रूपमा स्वामित्व लिएर संस्थालाई अगाडी बढाउने काममा चाहिँ तपाईँहरूको त्यसमा कमीकमजोरी देखिएको छ । मन्त्रालयबाट हामीले काम गर्ने भनेको जनताको सेवाको लागी हो । जनताको सेवा गर्नको लागी मन्त्रालय गठन भएको हो । सेवामा नै हामीले अनावश्यक रूपमा ढिलासुस्ती गर्न थालेपछि गाह्रो त हुने भयो नि । यहाँ मैले देखेको तपाईँहरूको जुन जुन यो प्रोजेक्टमा नेतृत्व गरिरहेकाहरू होस् या विभागको या सबै ठाउँमा निर्णय गर्नुपर्ने ठाउँमा समयमा नै निर्णय गर्नुपर्यो नि । निर्णय गर्दाखेरि ऐन छ, नियम छ, निर्देशिका छ, सबै छ नि । त्यसैका आधारमा काम त गर्नुपर्यो नि । तर यहाँ त के देखियो भने अलि ढिलो गर्ने, यहाँ मैले गरेपछि केही हुन्छ की भनेर । खाली आफ्नो मात्रै कुरा गरेर हुन्छ, यहाँ । यहाँ कर्मचारीहरूले पनि निर्वाह गर्नुपर्ने दायित्व पूरा गर्नुपर्यो नि । कहीँ आपत् छ भने के मा अस्पष्ट छ, आफू भन्दा माथीकोलाई खबर गर्ने, सहकार्य त हुनुपर्यो नि । फेरि यो नेपालको विकास निर्माणसँग सम्बन्धित मन्त्रालय पनि भएको कारणले गर्दा सबैले हेरिरहेका हुन्छन् । ३ वर्षमा सक्नुपर्ने ५/६ वर्ष भइसक्यो भएको छैन । २ वर्षमा सक्नुपर्ने ३र४ वर्ष भइसक्यो भएको छैन । भनेपछि त कामै यो सरकारले गर्न नसक्ने हो की भन्ने खालको किन भइरहेको छ भने सबैले सरकारको कर्मचारी भएपछि आफ्नो जिम्मेवारीअनुसार ऐन कानुन, नियम, निर्देशिकाअनुसार गर्नुपर्ने निर्णय गर्नुपर्यो नि त्यो नगरेर आलटाल गर्ने, ढिलासुस्ती गर्ने, त्यहाँबाट सरुवा भएर अरूलाई थुपार्दिने त्यसो गरेर हुँदैन है । सबैले गर्नुपर्ने काम त गर्नुपर्यो नि त ।’

उनले जनतालाई परिणाम दिनेगरी काम गर्ने निर्देशन दिए । गएको एक वर्षमा राम्रो काम नभएको भन्दै उहाँले चालु आर्थिक वर्षमा जनतालाई महसुस हुनेगरी काम गर्न आग्रह गरे ।

कार्यक्रम मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले मन्त्रालयको कार्यक्षेत्र अन्तर्गतका शहरी विकास तथा भवन निर्माण विभाग, स्थानीय पूर्वाधार विकास विभाग, वाग्मतीसँग सम्बन्धित काठमाडौँ उपत्यका विकास प्राधिकरणसँग सम्बन्धित कार्यलयहरुको सम्पूर्ण कार्य लक्ष्यलाई समष्टिगत गरेर कार्य सम्पादन सम्झौता गरिएको जानकारी दिए ।

सम्झौताअनुसार हरेक महिना भएको उपलब्धिलाई मन्त्री समक्ष रिपोर्टिङ गर्नुपर्ने उनको भनाई छ । प्रत्येक महिनाको मासिक विवरणमा प्रगतिमा हासिल भएको कुराहरूको लेखाजोखा हुने उनले बताए । हासिल गर्न नसकेको विषयलाई भने स्पष्ट कारण र प्रमाणसहित अर्को महिना गर्नेगरी कार्ययोजना पेस गर्नुपर्ने उनले जानकारी दिए ।

उनले भने ‘मन्त्रालयको कार्यक्षेत्र अन्तर्गतका शहरी विकास तथा भवन निर्माण विभाग, स्थानीय पूर्वाधार विकास विभाग, वाग्मतीसँग सम्बन्धित काठमाडौँ उपत्यका विकास प्राधिकरणसँग सम्बन्धित कार्यलयहरुको सम्पूर्ण कार्य लक्ष्यलाई समष्टिगत गरेर माननीय उपप्रधानमन्त्रीज्यू र मन्त्रालयका सचिवबिचको कार्य सम्पादन सम्झौता भएको हो । यस सम्झौता अनुसार हामीले हरेक महिना भएको उपलब्धिलाई रिपोर्टिङ गर्नुपर्ने हुन्छ, माननीय उपप्रधानमन्त्रीज्यूलाई । प्रत्येक महिनाको मासिक विवरण बुझाउनुपर्ने हुन्छ, त्यसमा चाहिँ मासिक प्रगतिमा हासिल भएको कुराहरूको लेखाजोखा हुन्छ । हासिल गर्न नसकेको भने स्पष्ट कारण र प्रमाणसहित पेस गर्नुपर्छ र अर्को महिना सक्नेगरी कार्ययोजना पेस गर्नुपर्छ ।’

शहरी विकास मन्त्रालयको कार्यक्रम तथा बजेट, सरकारको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रममा उल्लेख भएका मन्त्रालय अन्तर्गतको कार्यक्रमहरू निर्धारित समय, लागत र गुणस्तर अनुरूप सम्पन्न गर्नेगरी शहरी विकासमन्त्री सिंह र सचिव सिग्देलबिच कार्यसम्पादन सम्झौता भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + twenty =