स्वास्थ्य सेवाका कर्मचारीहरूलाई पनि निजामती सेवा विधेयकमा समेट्नुपर्छ : सांसद भट्टराई

काठमाडौँ । नेकपा (एमाले) का सांसद गोपाल भट्टराईले स्वास्थ्य सेवाका कर्मचारीहरूका मागहरू समेत संघीय निजामती विधेयकमा समेटेर लैजानुपर्ने माग राखेका छन् ।
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको सोमवार बैठकमा संघीय निजामती सेवा विधेयकमाथि सैद्धान्तिक छलफलमा बोल्दै उनले यस्तो माग राखेका हुन् ।
उनले विधेयमा साना तथा निजामती सेवा बाहिरका कर्मचारीहरूलाई पनि समेटेर अघि बढ्नुपर्ने धारणा राखे । उनले विधेयकले संघीयता कार्यान्वयनमा देखिएका समस्या समाधान गर्ने उद्देश्य बोकेको उल्लेख गर्दे दफावार छलफलमार्फत विधेयकलाई थप समृद्ध बनाउन जरुरी रहेको बताए ।
उनले भने ‘यो विधेयकले अहिले संघीयता कार्यान्वयनमा देखिएका समस्या समाधान गर्ने यसको उद्देश्य देखिन्छ । त्यसका लागि विधेयकले राम्रो काम गरेको जस्तो देखिन्छ । विधेयकले साना कर्मचारीहरू र निजामतीभन्दा बाहिर पारिएका कर्मचारीलाई कसरी समेट्ने भन्ने पनि छन् । यसमा हामीले नपुग भएका कुराहरूमा संशोधन पनि हालेका छौँ । अहिलेसम्मका विधेयकहरू सही ढंगले पास भएका छन् । यो विधेयक पनि सोही ढंगले अगाडि बढ्छ भन्ने विश्वास छ । स्वास्थ्य सेवाका कर्मचारीहरूले पनि यही विधेयकमा बस्नुपर्छ भन्ने माग राखेका छन् । उनीहरूसँग पनि छलफल गर्नुपर्छ । यो विधेयकलाई समृद्ध बनाएर लैजाने कुरामा प्रतिबद्ध हुनुपर्छ । छौँ । अब कुलिङ अफ पिरियडबारे पनि थप छलफल आवश्यक छ । त्यसका लागि पनि दफावार छलफलमा थप कुरा राख्नुपर्छ ।’
उनले कुलिङ अफ पिरियडबारे थप आवश्यक छलफल गर्नुपर्ने धारणा राखे ।








