दुई अर्ब मानिसको जीवनयापनको आधार संकटमा छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दुकुश हिमालय क्षेत्रको जैविक विविधता गम्भीर संकटमा रहेको बताएका छन् । उनले यो क्षेत्रले दुई अर्बभन्दा बढी मानिसको जीवनयापनमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा योगदान पुर्‍याएको उल्लेख गर्दै जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र वायु प्रदूषण अब वैज्ञानिक प्रतिवेदनमा मात्र सीमित नभएर दैनिक जीवनको कठोर यथार्थ बनिसकेको बताए ।

सोमबार काठमाडौंमा आयोजित ‘हिन्दुकुश हिमालय संसदीय सम्मेलन’लाई सम्बोधन गर्दै उनले भने, ‘हामी सबै संकटासन्न अवस्थामा छौँ, यसलाई सबैले मिलेर पार लगाउनुछ ।’ उनले यो सम्मेलनलाई हिन्दुकुश हिमालय क्षेत्रको भूगोल, वन, नदी र वायुमण्डलको भविष्यबारे दृढ संकल्प जनाउने एक ऐतिहासिक अवसरका रूपमा लिएको विश्वास व्यक्त गरे ।

राष्ट्रपति पौडेलले यस क्षेत्रका हिमालबाट बग्ने नदीको पानी, वनबाट प्राप्त हुने अक्सिजन र कृषियोग्य भूमिको उर्वरताले दुई अर्बभन्दा बढी मानिसको जीवन चलाएको तर आज यही जीवनयापनको आधार संकटमा परेकोतर्फ गम्भीर ध्यानाकर्षण गराए ।

विश्वव्यापी तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियससम्म सीमित गर्ने पेरिस सम्झौताको प्रतिबद्धता पूरा गर्न सम्बन्धित पक्षहरूले आ-आफ्नो ठाउँबाट योगदान पुर्‍याउनुपर्ने आजको आवश्यकता भएको उनले औँल्याए । उनले हिमालय क्षेत्रमा तापक्रम विश्वको औसतभन्दा धेरै छिटो वृद्धि भइरहेकोतर्फ सचेत गराए ।

नेपाल जैविक विविधताको दृष्टिले धनी रहेको र विश्वका दुर्लभ वनस्पति तथा जनावरको बासस्थान भएको उल्लेख गर्दै उनले जैविक विविधता संरक्षणका लागि नेपालले राष्ट्रिय निकुञ्ज विस्तार, वन्यजन्तु निगरानी प्रणालीको आधुनिकीकरण र स्थानीय समुदायसँग गरेको सहकार्य प्रशंसनीय रहेको बताए । उनले अब वैज्ञानिक तथ्य र जनआवाजलाई आधार मानेर समयसापेक्ष, जनमुखी र कार्यान्वयनयोग्य नीति तर्जुमा गर्न जरुरी रहेकोमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =