विराटनगर जाँदै पूर्वराष्ट्रपति भण्डारी, राजनीतिक भेटघाटको तयारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज कोशी प्रदेशको राजधानी विराटनगर जाने भएकी छन् । उनी ‘उद्घोष दैनिक’ को २१ औं वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन विराटनगर जान लागेकी हुन् ।
भण्डारी बिहान ११:१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्ने कार्यक्रम छ । उनी सहभागी हुन लागेको पत्रिका माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निकट प्रेस संगठनका कोशी प्रदेश अध्यक्ष बन्धु पोखरेल लगायतले सञ्चालन गर्दै आएका छन् ।
वार्षिकोत्सवको औपचारिक कार्यक्रमसँगै उनको भ्रमणका क्रममा राजनीतिक भेटघाटहरू पनि हुने बताइएको छ । गत साउन ५ र ६ गते बसेको एमाले केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्कन रोक लगाउने निर्णय गरेको थियो । उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै भण्डारीले एमालेको पूर्वउपाध्यक्षको हैसियतमा विज्ञप्ति निकालेर विरोध जनाएकी थिइन् ।
एमालेको निर्णयपछि पनि राजनीतिक सक्रियता देखाउन खोजिरहेकी भण्डारीको यो भ्रमण र राजनीतिक भेटघाटलाई उनको भावी कदमको संकेतका रूपमा विश्लेषण गर्न थालिएको छ ।








