टप एन्ड टी-२०: पहिलो जितको खोजीमा नेपाल, आज बलियो बंगलादेश ‘ए’ सँग प्रतिस्पर्धा

काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी प्रतिष्ठित टप एन्ड टी-२० सिरिज अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज आफ्नो दोस्रो खेलमा बंगलादेश ‘ए’ को सामना गर्दैछ । पहिलो खेलमा पराजय भोगेका दुवै टोली आज पहिलो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रनेछन् ।

डार्विनस्थित मरारा क्रिकेट ग्राउण्ड २ मा हुने यो खेल नेपाली समय अनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ । रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीले आज गत सिजनको उपविजेता तथा अनुभवी खेलाडीले भरिएको बंगलादेशी टोलीको सामना गर्न लागेको हो । बंगलादेश ‘ए’ को कप्तानी नुरुल हसनले सम्हालेका छन् ।

प्रतियोगितामा दुवै टोलीको सुरुवात सुखद रहन सकेन । नेपाल आफ्नो पहिलो खेलमा आयोजक एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो भने बंगलादेश ‘ए’ लाई पाकिस्तान शाहीन्सले ७९ रनको फराकिलो अन्तरले हराएको थियो । त्यसैले आजको खेल दुवै टोलीका लागि प्रतियोगितामा पुनरागमन गर्न र आफ्नो लय समात्न महत्त्वपूर्ण हुनेछ ।

बंगलादेश ‘ए’ को टोलीमा बंगलादेश प्रिमियर लिग (बीपीएल) मा उत्कृष्ट प्रदर्शन गरेका तथा अन्तर्राष्ट्रिय अनुभव बटुलेका खेलाडीहरूको बाहुल्यता रहेकाले आजको खेल नेपालका लागि चुनौतीपूर्ण हुने अनुमान गरिएको छ ।

अगस्ट २४ सम्म डार्विन र पामरस्टनमा चल्ने यस प्रतियोगितामा नेपालसहित ११ टोली सहभागी छन्, जसले कुल ३६ लिग खेल खेल्नेछन् । बंगलादेश ‘ए’ सँगको खेलपछि नेपालले मेलबर्न स्टार्स, होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स र पाकिस्तान शाहीन्स जस्ता बलिया टोलीहरूसँग पनि खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + ten =