रञ्जिता श्रेष्ठले गरिन् संसदीय दलका नेता चौधरीलाई कारबाही

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीभित्रको आन्तरिक विवाद झनै चुलिएको छ ।
पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले संसदीय दलका नेता गंगाराम चौधरीमाथि कारबाही गरेसँगै विवाद सतहमा आएको हो ।
श्रेष्ठले शुक्रबार एक पत्रमार्फत चौधरीले पार्टीको निर्देशन अवज्ञा गरेको, स्पष्टीकरण माग्दा समेत चित्तबुझ्दो जवाफ नदिएको र पार्टीको लेटरप्याड तथा छापको दुरुपयोग गरेको आरोप लगाएकी छन् ।
उनका अनुसार चौधरीले आफूले नपाएको महासचिवको हैसियतमा पत्राचार गर्दै पार्टीको हितविपरीत कार्य गरेका छन् ।
सोही कारण पार्टीले दुईपटक स्पष्टीकरण माग्दा पनि जवाफ नआएको भन्दै उनलाई कारबाही गरिएको र उक्त विषय संसद्लाई समेत जानकारी गराइएको श्रेष्ठले स्पष्ट पारेकी छन् ।
यो कारबाहीसँगै नागरिक उन्मुक्ति पार्टीको आन्तरिक विवाद थप चर्किएको छ । नेताहरूबीचको विश्वासको संकट पार्टीभित्रको स्थायित्वमा चुनौती बन्न थालेको विश्लेषण गरिएको छ ।










