नेपाली राष्ट्रिय टोली आज अस्ट्रेलियामा मैदान उत्रँदै, एनटी स्ट्राइक पहिलो प्रतिद्वन्द्वी

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज अस्ट्रेलियाको प्रतिष्ठित टप एण्ड टी-२० सिरिजमा आफ्नो यात्रा सुरु गर्दैछ । पहिलो खेलमै नेपालले बिग ब्यास लिग (बीबीएल) का अनुभवी स्टार खेलाडीहरूले भरिएको घरेलु टोली नर्दन टेरिटोरी (एनटी) स्ट्राइकसँग प्रतिस्पर्धा गर्नेछ ।
डार्विनस्थित मरारा क्रिकेट ग्राउण्डमा खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ । कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले बलियो घरेलु टोलीलाई स्तब्ध पार्ने लक्ष्यका साथ मैदान उत्रनेछ ।
एनटी स्ट्राइक प्रतियोगिताको पूर्वविजेता (२०२३) र गत वर्षको सेमिफाइनलिस्ट मात्र होइन, बीबीएलका चर्चित खेलाडीहरूको जमघट पनि हो । टोलीका मुख्य आकर्षण हुन्- अस्ट्रेलियाको राष्ट्रिय टोलीबाट समेत खेलिसकेका विष्फोटक ब्याट्सम्यान डार्सी शर्ट । त्यस्तै, अस्ट्रेलिया ‘ए’ बाट शतकीय इनिङ खेलेका र आगामी एशेज सिरिजमा टेस्ट डेब्यु गर्न सक्ने चर्चामा रहेका कप्तान जेक वेदराल्ड पनि टोलीमा छन् । तीन पटक बीबीएल उपाधि जितेका उत्कृष्ट फिल्डर तथा आक्रामक ब्याट्सम्यान जोर्डन सिल्क र अस्ट्रेलियाका लागि खेलिसकेका अनुभवी तीव्र गतिका बलर केन रिचार्डसनको उपस्थितिले टोलीलाई झनै सन्तुलित र शक्तिशाली बनाएको छ ।
यस्तो छ नेपाली टोली
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरि (उप-कप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेस कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण के सी, रिजन ढकाल, लोकेस बम, साहब आलम ।
२४ अगस्टसम्म डार्विन र पामरस्टनमा चल्ने यस प्रतियोगितामा नेपालसहित ११ टोलीले प्रतिस्पर्धा गर्नेछन् । एनटी स्ट्राइकपछि नेपालले बंगलादेश ‘ए’, बीबीएलका चर्चित टोलीहरू मेलबर्न स्टार्स, होबार्ट हरिकेन्स, मेलबर्न रेनिगेड्स र पाकिस्तान शाहीन्स जस्ता बलिया टोलीसँग खेल्ने तालिका छ ।








