अलास्का वार्ताअघि जेलेन्स्कीको आक्रोश- पुटिनले हामीलाई मूर्ख बनाउन सक्दैनन्

काठमाडौँ । अलास्कामा हुन लागेको बहुप्रतिक्षित शिखर वार्ताको पूर्वसन्ध्यामा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी समकक्षी भ्लादिमिर पुटिनप्रति कडा आक्रोश व्यक्त गरेका छन् । ‘पुटिनले हामीलाई मूर्ख बनाउन सक्दैनन्,’ भन्दै उनले रुसले सीमा क्षेत्र कब्जा गर्ने दाउमा रहेको आरोप लगाएका हुन् ।
बर्लिनमा युरोपेली नेताहरूसँगको भेटघाट र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको फोन वार्तापछि जेलेन्स्कीको यो कडा टिप्पणी आएको हो । उनले अमेरिका युक्रेनप्रतिको आफ्नो समर्थनमा अडिग रहेको दाबी गरे र राष्ट्रपति ट्रम्पले शुक्रबार पुटिनसँगको भेटपछि आफूलाई सम्पर्क गर्ने आश्वासन दिएको जानकारी दिए ।
संचारकर्मीसँग कुरा गर्दै जेलेन्स्कीले रुस युद्धविरामका लागि तत्काल सहमत नभए थप कडा प्रतिबन्धहरूको सामना गर्नुपर्ने बताए । ‘पुटिन बकवास गरिरहेका छन्, उनी सीमासँग जोडिएको सम्पूर्ण क्षेत्र कब्जा गर्न खोजिरहेका छन्,’ उनले भने ।
आगामी अगस्ट १५ मा अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनबीच अलास्कामा युक्रेन युद्ध अन्त्य गर्ने विषयमा शिखर वार्ता हुँदैछ, जसमा युक्रेनलाई भने सहभागी गराइएको छैन । यही अनुपस्थितिका बीच जेलेन्स्कीले आफ्नो अडान र आशंका सार्वजनिक गरेका हुन्, जसले वार्ताअघि नै तनाव बढाएको छ ।








