आर्थिक अपराध बढ्यो : वरिष्ठ उपरीक्षक अधिकारी

काठमाडौँ । पछिल्लो समय आर्थिक अपराधमा वृद्धि भएको पाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंकाअनुसार सबैभन्दा बढी मुद्दा दर्ता बैङ्किङ कसुरमा हुने गरेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले मुख्य १० वटा सबैभन्दा बढी दर्ता भएको मुद्दालाई विश्लेषण गर्दा बैङ्किङ कसुर पहिलो नम्बरमा रहेको बताए । बुधवार परिसरमा आयोजित पत्रकार सम्मेलनमा उनले गत आर्थिक वर्ष २०८१/०८२ मा ६ हजार ५ सय ५३ वटा मुद्दाहरू बैङ्किङ कसुरका दर्ता भएको जानकारी दिए ।
गतवर्ष १२ हजार ९ सय १५ वटा मुद्दा दर्ता भएका थिए । उनकाअनुसार बैङ्किङ कसुरपछि अभद्र व्यवहारका मुद्दा १ हजार ९ सय ५३ वटा रहेका छन् । त्यसपछि क्रमशः चोरी, ठगी, लागुऔषध, आत्महत्या, जबर्जजस्तीकरणी, ज्यान मार्ने उद्योग, सवारी ज्यान र अंगभंगका घटनाहरू रहेको उनले बताए ।
चोरीका ९५१, ठगीका ७४७, लागूऔषधका ४३१, आत्महत्याका ३३२, जबरजस्ती करणी २४४, ज्यान मार्ने उद्योग १४०, सवारी ज्यान १०० र सवारी अङ्गभङ्ग ७४ वटा मुद्दा दर्ता भएका छन् ।
औसतमा दैनिक ३५ वटा मुद्दा दर्ता भएको देखिएको प्रहरी प्रमुख पोखरेलले जानकारी दिए । उनकाअनुसार यी १० प्रकारका मुख्य संख्याका अपराधहरूले जम्मा मुद्दाको ८९ प्रतिशत हिस्सा ओगटेका छन् ।
उनले भने ‘१० वटा सबैभन्दा बढी दर्ता भएको मुद्दा हामीले हेयौँ भने बैङ्किङ कसुरका मुद्दाहरू सबैभन्दा टपमा छन् । ६ हजार ५५३ वटा केसहरू बैङ्किङ कसुरका छन् । त्यसपछि हामीले अभद्र व्यवहारका मुद्दा १ हजार ९५३ छ । त्यसपछि क्रमशः चोरी, ठगी, लागुऔषध, आत्महत्या, जबरजस्ती करणी, ज्यान मार्ने उद्योग, सवारी ज्यान र अंगभंगका घटनाहरू रहेका छन् । औसतमा हेर्ने हो भने १२ हजार ९ सय १५ वटा केसलाई हामीले ३ सय ६५ दिनमा विभाजन गयौँ भने यो चाहिँ ३५ वटा प्रतिदिन मुद्दा दर्ता भएको देखिन्छ । यी १० प्रकारका मुख्य संख्याका अपराधहरू हुन् । यिनीहरूले चाहिँ जम्मा मुद्दाको ८९ प्रतिशत हिस्सा ओगटेका छन् । त्यसमा पनि सबैभन्दा ठुलो भोल्युम चाहिँ बैङ्किङ कसुरमा रहेको छ ।’
यस्तै उनले काठमाडौँ जिल्लामा ८ सय १५ जना प्रहरी दरबन्दी रिक्त रहेको पनि जानकारी दिए । काठमाडौँ जिल्लाको लागी कुल दरबन्दी कुल दरबन्दी ४ हजार १६ भएपनि हाल ३ हजार २ सय ३३ जना प्रहरी जनशक्ति कार्यरत रहेको उनले बताए ।
उनले भने ‘काठमाडौँ जिल्लाको लागी कुल दरबन्दी कुल दरबन्दी ४ हजार १६ हो । ४ हजार १६ मा अहिले हामी ३ हजार २ सय ३३ जना प्रहरी जनशक्ति कार्यरत छौँ । यसरी हेर्दाखेरि आज हामीसँगै ८ सय १५ जना दरबन्दी भएको व्यक्तिहरूको कमी छ ।’
जिल्ला प्रहरी परिसर काठमाडौँले गतवर्ष फैसला कार्यान्वयन तर्फ ५ हजार ५ सय १२ जनाबाट २४ करोड २० लाख ९४ हजार ८५९ रुपैयाँ जरिवाना असुल गरेको छ । यस्तै ६ करोड ८५ लाख ५० हजार १०६ रुपैयाँ बराबरको हुण्डी रकम बरामद गरेको छ । कार्यालयले १२ करोड ७५ लाख ८ हजार ८ सय २८ रुपैयाँ राजस्व दाखिला समेत गरेको छ ।








