०८४ पछि बन्ने सरकार एमाले र काँग्रेसकै हो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आगामी २०८४ सालपछि पनि देशमा नेकपा एमाले वा नेपाली काँग्रेसकै नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् ।

मंगलवार काठमाडौंमा आयोजित भूमि समस्या समाधान आयोगको वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारको स्थायित्वमा प्रश्न उठाउनु आवश्यक नरहेको भन्दै अहिलेको सरकार स्थिर र भरोसायोग्य रहेको स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले ०८४ को निर्वाचनपछि बन्ने सरकारको नेतृत्व कुनै नयाँ वा सानो दलले लिने सम्भावना नदेखिएको बताउँदै भने ‘यो सरकार ०८४ को पुससम्म जान्छ । त्यसपछि तपाईंहरूले यो नठान्नुस् कि कोही अर्को आउँछ । अहिले नै भनिदिन्छु, या त एमालेले बनाउँछ, या काँग्रेसले बनाउँछ, या दुवैले मिलेर बनाउँछन् । तीन वटा बाहेक अर्को विकल्प छैन ।’

उनले ठूला दलहरू बहुमत ल्याउने प्रयासमा लागेको तर त्यो नपुगेमा दुबैले मिलेर सरकार बनाउने सम्भावना उल्लेख गरे । टालाटुली बटुलेर, विभिन्न साना दलहरू मिलाएर अस्थिर सरकार बनाउने प्रयासमा एमाले र काँग्रेस नलाग्ने उनको भनाइ थियो ।

सरकारको स्थायित्वप्रति जनप्रतिनिधिहरू ढुक्क हुन सक्ने भन्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकार आलोपालो प्रधानमन्त्रीको सहमतिको आधारमा बनेको बताए । ‘सरकार फेरिन्छ भनेको प्रधानमन्त्री मात्रै फेरिन्छ । मन्त्रीहरू त एउटै पार्टीको सरकार भए पनि फेरिन सक्छन् । अहिलेको सरकार स्थिर छ’ उनले भने ।

उनले कांग्रेसभित्र नेतृत्त्वको विषयमा हुने चर्चा र हल्लाहरूप्रति पनि टिप्पणी गर्दै ती विषयमा कान थाकिसकेको बताए ।

प्रधानमन्त्री ओलीले काँग्रेसभित्र दलको नेता परिवर्तनको प्रयास भइरहेको चर्चा गर्दै त्यसलाई ‘पुरानै कथा, नयाँ संस्करण’ भन्दै खिल्ली उडाए । ‘आज बिहान मलाई एक जनाले भन्यो, काँग्रेसभित्र दलको नेता फेर्न १२ जना पुगेको छैन रे । यो कथा फेरिँदै आइरहन्छ, पात्र मात्रै बदलिन्छ, तर संशोधन केही हुँदैन,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 14 =