कुलिङ पिरियड छानविन प्रतिवेदनप्रति काँग्रेस सांसद मिश्रको गम्भीर असन्तुष्टि

काठमाडौँ । नेपाली कांग्रेसका सांसद नारायणदत्त मिश्रले कुलिङ अफ पिरियडसम्बन्धी प्रावधानमा भएको संशोधन र त्यसबारे संसदीय छानबिन विशेष समितिले तयार पारेको प्रतिवेदनप्रति गम्भीर असन्तुष्टि जनाएका छन् ।

मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद मिश्रले संघीय निजामती सेवा विधेयक, २०८० मा देखिएको त्रुटी छानबिन गर्न गठित संसदीय छानबिन समितिको प्रतिवेदनले वास्तविकता नखोलिएको आरोप लगाए ।

उनले भने, “प्रतिवेदनले भन्नुपर्ने कुरा भन्न सकेन, अलिकति लजाएको जस्तो, भन्न खोजेको कुरा भन्न लाज मानेको जस्तो देखियो ।” मिश्रले व्यङ्ग्य गर्दै प्रतिवेदन सबै दलको सहमतिमा तयार भएकाले धेरै नबोल्ने भन्दै टिप्पणी गरे, “खैर, सबै दलको सहमतिमा आएको प्रतिवेदनमा धेरै बोल्न त नपर्ला, तर सत्य त जनताले थाहा पाउनैपर्छ ।”

सांसद मिश्रले संविधानमा उल्लेख भएको समाजवादको मर्म विपरीत ठूला दर्जाका कर्मचारीहरूलाई कुलिङ अफ पिरियड हटाएर तत्काल अर्को जागिरको व्यवस्था मिलाउनेतर्फ राज्य ‘दत्तचित्त’ भएको आरोप समेत लगाए। उनले प्रश्न गरे, “हाम्रो समाजवाद उन्मुख व्यवस्था कतै ठूला दर्जाका कर्मचारीहरूलाई मात्र सुविधाजनक बनाउन त होइन ?”

संघीय निजामती सेवा विधेयक यही वर्षे अधिवेशनमा पास हुनेमा आशंका व्यक्त गर्दै उनले समितिले विधेयकलाई प्राथमिकता नदिएको आरोप लगाए । “समितिले अग्राधिकार दिएको जस्तो लागेन,” उनले भने, “हामी दुई नारायणले त समिति छाडिसक्यौं, अब त्यहाँ रहेका कृष्णहरूले के गर्छन्, हेरौं ।”

मिश्रले कुलिङ अफ पिरियडको प्रावधानमा गरिएको चलखेललाई “संसदको निर्णयमाथि खेलवाड” भन्दै त्यसका दोषी जो भए पनि कारबाहीको दायरामा ल्याइनुपर्ने माग गरे । “आदेश दिने पर्दा पछाडि भए पनि पालना गर्ने सम्मलाई कारबाही भएको भए यस्ता घटना दोहोरिन्थेन,” उनले चेतावनी दिए ।

उनले कुलिङ अफ पिरियड राख्दा वा नराख्दा खासै फरक नपर्ने उल्लेख गर्दै “दूधले धोएका मानिसहरू” त नआउने स्पष्ट पारे । “हाम्रो मान्छे भन्ने सोच हटेन भने असल मान्छेले कहिल्यै ठाउँ पाउँदैन,” मिश्रले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − three =