दोस्रो डिजिटल फ्रेमवर्क यही वर्षदेखि लागू हुन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘दोस्रो डिजिटल नेपाल फ्रेमवर्क (डीएनएफ)’ चालु आर्थिक वर्षभित्रै लागू हुने स्पष्ट पारेका छन् ।

मंगलवार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री गुरुङले डिएनएफ अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन् ।

उनका अनुसार सन् २०१९ (वि.सं. २०७६) मा बनेको पहिलो डिजिटल फ्रेमवर्क धेरै अपूरो रहेको र बदलिंदो प्रविधिको गतिलाई समेट्न नयाँ ढाँचा आवश्यक परेको हो ।

मन्त्री गुरुङले विश्व बैंकले डीएनएफका लागि ५८ करोड रुपैयाँ सहयोग गर्ने सहमति जनाएको भए पनि हालसम्म एक रुपैयाँ समेत प्राप्त नभएको गुनासो गरे। ‘५८ करोडमा ५८ पैसा पनि नपाएको’, उनले भने,‘वल्र्ड बैंकका मान्छेहरू सम्पर्कमै आएनन्, अर्थ मन्त्रालयसँग एमओयूमा के नमिलेको हो थाहा छैन ।’

सात महिनासम्म प्रतिक्षा गरेपछि मन्त्रालयले आफैं पहल थालेको बताउँदै मन्त्री गुरुङले क्याबिनेटमा प्रस्ताव लैजाने तयारी पूरा भइसकेको बताए । ‘अब मन्त्रिपरिषद्बाट पास भएपछि यो फ्रेमवर्क यो वर्षदेखि नै लागू हुन्छ,’ मन्त्री गुरुङले भने ।

मन्त्री गुरुङले नेपाल सूचना प्रविधिको क्षेत्रमा पछाडि परेको स्वीकार गर्दै फाइभजी र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा ध्यान केन्द्रित गरिने बताए । ‘चालु वर्षमै काठमाडौं र पोखरामा फाइभजी सेवा सुरु गर्छौं,’ उनले भने, ‘यसले एआई प्रविधिको प्रयोग पनि प्रभावकारी बनाउनेछ ।’

उनका अनुसार सूचना प्रविधिको क्षेत्र तीव्र गतिमा परिवर्तन भइरहेकाले नीति तथा कार्यक्रम पनि त्यसअनुसार अद्यावधिक गर्न आवश्यक छ । ‘आज बनाएको फ्रेमवर्क पनि भोलि संशोधन गर्नुपर्ने हुन्छ,’ मन्त्री गुरुङले भने ।

२०७६ मा बनेको पहिलो डिजिटल फ्रेमवर्कलाई अहिलेको आवश्यकताअनुसार अधुरो भन्दै मन्त्री गुरुङले दोश्रो संस्करण आधुनिक, व्यावहारिक र दीर्घकालीन हुने दाबी गरे ।

सरकारले डिजिटल पूर्वाधार, सेवा प्रवाह र प्रविधिमा आधारित शासन प्रणाली निर्माणतर्फ कदम चालेको भन्दै मन्त्रालयले नीतिगत तयारी पूरा गरिसकेको स्पष्ट पारेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =