नाडा अटो शो भदौ ३ गतेदेखि : प्रमुख आकर्षणमा रोबोट डग र उड्ने कार (विज्ञप्ति)

काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो र प्रतिष्ठित प्रदर्शनी, नाडा अटो शो, यस वर्ष अझै बृहत् र भव्यताका साथ आयोजना हुने भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले ‘नवप्रवर्तन र उत्साहको नयाँ अध्याय’ भन्ने मूल नाराका साथ ‘नाडा अटो शो २०२४’ को १६औं संस्करण आयोजना गर्ने घोषणा गरेको हो ।
आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने प्रदर्शनीको उद्घाटन अर्थमन्त्री विष्णु प्रसाद पौडेलबाट हुने कार्यक्रम रहेको छ । आयोजकका अनुसार, यो संस्करण नेपालकै अहिलेसम्मकै सबैभन्दा ठूलो अटो शो हुनेछ, जसले ३ लाख वर्गफिट भित्री तथा २ लाख ९२ हजार ५ सय वर्गफिट बाहिरी प्रदर्शनी क्षेत्र ओगट्नेछ ।
प्रमुख आकर्षण: रोबोट डग र फ्लाइङ कार
यस वर्षको प्रदर्शनी प्रविधि र भविष्यमुखी मोबिलिटीमा केन्द्रित रहनेछ । ‘गो फर मोर’ भन्ने नारालाई चरितार्थ गर्दै शोमा पहिलो पटक अत्याधुनिक प्रविधिहरू प्रस्तुत गरिँदैछ । आकर्षणको केन्द्रमा ‘युनिट्री गो२’ नामक अत्याधुनिक रोबोट रहनेछ, जुन हिँड्न, दौडिन र विभिन्न कलाहरू प्रदर्शन गर्न सक्षम छ । त्यस्तै, भविष्यको सहरी हवाई यातायातको झलक दिने ‘दीपल ईभीटोल युएभी’ पनि प्रदर्शनीको अर्को प्रमुख आकर्षण हुनेछ । यो विद्युतीय ठाडो उडान र अवतरण गर्न सक्ने सवारीले अवलोकनकर्ताहरूलाई भविष्यको यात्राको अनुभव प्रदान गर्नेछ ।
प्रदर्शनीमा १९ वटा चारपाङ्ग्रे, २७ वटा दुईपाङ्ग्रे, ७ वटा हल्का व्यावसायिक सवारी, ९ वटा टायर, लुब्रिकेन्ट र ब्याट्री तथा १३८ वटा स्पेयर पार्ट्स र एसेसरिज ब्रान्डहरूको सहभागिता रहनेछ । यसका साथै, पुरानो पुस्तालाई आकर्षित गर्न ‘भिन्टेज मोटर शो’ को पनि आयोजना गरिएको छ, जहाँ मोरिस माइनर, फियाट, प्युजो, बिटल, मर्सिडिज बेन्ज जस्ता ऐतिहासिक तथा क्लासिक गाडीहरू प्रदर्शनमा राखिनेछन् । ‘मेड इन नेपाल पेभिलियन’ मार्फत स्वदेशी उत्पादनलाई प्रोत्साहन गरिनेछ भने ‘इन्टरनेशनल बिजनेस पेभिलियन’ले अन्तर्राष्ट्रिय लगानी र सहकार्यका लागि मञ्च प्रदान गर्नेछ ।
कार्यक्रमको टाइटल स्पोन्सरको रूपमा युनिट्री (माभ वृद्धि) रहेको छ भने सह-प्रायोजक शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ । कार्यक्रमलाई क्याम्पा कोलाले ‘पावर्ड बाइ’ गरेको छ भने याङ्गो मोबिलिटी पार्टनरको रूपमा छ । खल्ती बाइ आईएमईले विशेष छुटसहित टिकटिङको जिम्मेवारी लिएको छ, जसअन्तर्गत भदौ २ गतेसम्म टिकट खरिदमा २० प्रतिशत छुट पाइनेछ। कार्यक्रमको व्यवस्थापन ग्लोबल एक्स्पोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेज (जेम्स) ले गर्नेछ ।
नाडाका अध्यक्ष करण चौधरीले १६औं संस्करणसम्म आइपुग्दा नाडा अटो शोले नेपाली अटोमोबाइल उद्योगमा एक विश्वसनीय र महत्वपूर्ण स्थान बनाएको बताएका छन् । उनले यो प्रदर्शनी उपभोक्ता, उद्यमी र अवलोकनकर्ता सबैका लागि एक अविस्मरणीय अनुभव हुने विश्वास व्यक्त गरे ।









