हात्तीसारमा राजेन्द्र लिङ्देनविरुद्ध ७० नेताको बैठक जारी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक असन्तुष्टि थप चुलिएको छ ।
अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वप्रति असन्तुष्ट नेताहरूको छुट्टै समूहले काठमाडौंको हात्तीसारस्थित नेपाल हाउस रेष्टुरेन्टमा बैठक बसिरहेको छ ।
बैठकमा अध्यक्ष लिङ्देनले हालै मात्र पदमुक्त गरेका नेताहरू समेत सहभागी छन् ।
बैठकमा वरिष्ठ उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डे, उपाध्यक्ष मुकुन्दश्याम गिरी, महामन्त्री डा. धवल शमशेर राणा, महामन्त्री कुन्ती कुमारी शाही, सहायक महामन्त्री प्रेम बलायर, ऋषिराज देवकोटा र सौरेन्द्र बहादुर शाह लगायत रहेका छन् ।
बैठकमा अध्यक्ष लिङ्देनले गरेको पछिल्ला कारबाहीहरू मुख्य एजेन्डा रहेको सहभागी एक नेताले जानकारी दिए ।
विशेषतः अनुशासन समितिका प्रमुखको मनोनयन, उपाध्यक्ष गिरी र प्रवक्ता लावतीलाई पदबाट हटाउने निर्णयलगायतका विषयहरूलाई लिएर असन्तुष्टि बढ्दै गएको छ ।
यसबाहेक, तल्लो तहको अधिवेशनका लागि तोकिएका केन्द्रीय पर्यवेक्षकहरूको छनोटमा समेत एकलौटी गरिएको भन्दै असन्तुष्ट पक्षले आपत्ति जनाउँदै आएको छ ।
राप्रपाभित्रको यो चर्किंदो असन्तुष्टि पार्टी एकतालाई चुनौतीका रूपमा हेरिएको छ ।








