एनपीएलको पहिलो संस्करणबाट क्यानलाई २ करोड ४६ लाख नाफा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणबाट २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ खुद नाफा कमाएको छ ।
क्यानले बुधबार एक विज्ञप्ति जारी गर्दै एनपीएलको आय–व्यय विवरण सार्वजनिक गरेको हो । बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकपछि सार्वजनिक गरिएको विवरणअनुसार, एनपीएलको पहिलो संस्करणमा कुल आम्दानी २७ करोड ६९ लाख ६४ हजार ८१८ रुपैयाँ रहेको थियो भने कुल खर्च २० करोड १५ लाख ७३ हजार ५५९ रुपैयाँ देखाइएको छ ।
कुल खर्च कटाएर बाँकी रहेको आम्दानीबाट राजस्व बाँडफाँड गरिएको क्यानले जनाएको छ । सोअनुसार प्रतियोगितामा सहभागी ८ फ्रेन्चाइज टोलीलाई ४ करोड ३७ लाख ४० हजार ४७० रुपैयाँ वितरण गरिएको छ ।
यसैगरी, प्रदेश क्रिकेट संघहरूको विकासका लागि ७० लाख रुपैयाँ छुट्याइएको छ । बाँकी २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ क्यानको खातामा नाफा स्वरूप रहेको हो ।
क्यानको गभर्निङ काउन्सिलले प्रस्तुत गरेको यो आय–व्यय प्रतिवेदनलाई केन्द्रीय कार्यसमितिको बैठकले थप अध्ययन गरी आगामी बैठकबाट अनुमोदन गर्ने निर्णय गरेको छ ।








