नेपालमा सन् २०२६ को महिला टी–२० विश्वकप ग्लोबल छनोट हुने

काठमाडौं । नेपालले पहिलोपटक सन् २०२६ मा आयोजना हुने महिला टी–२० विश्वकपको ग्लोबल छनोट प्रतियोगिता गर्ने पक्का भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले प्रतियोगिता यही सन् २०२६ को जनवरी १२ देखि फेब्रुअरी १६ सम्म नेपालमा हुने घोषणा गरेको हो ।
१० राष्ट्र सहभागी हुने यस प्रतियोगिताबाट शीर्ष चार टोलीले इंग्ल्याण्ड र वेल्समा हुने महिला टी–२० विश्वकपमा स्थान बनाउनेछन् । नेपालले आयोजना गर्न लागेको यो हालसम्मकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ ।
यसअघि सन् २०२४ को महिला टी–२० विश्वकपमा सहभागिता जनाइसकेका बंगलादेश र आयरल्याण्डले ग्लोबल छनोटका लागि स्वतः छनोट भइसकेका छन् । एशिया क्षेत्रबाट नेपाल र थाइल्याण्ड छनोट भएका छन् भने अमेरिका क्षेत्रबाट अमेरिकाले स्थान पक्का गरिसकेको छ ।
यसैगरी अफ्रिका र युरोपबाट दुई–दुई टोली तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रबाट एक टोली छनोट हुनेछन् । ती टोलीहरू क्षेत्रीय छनोट प्रतियोगितामार्फत निर्धारण हुनेछन् ।
नेपालमा हुने ग्लोबल छनोटमा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । समूह चरणपछि सुपर सिक्स चरण हुनेछ भने अन्तिममा फाइनल खेल हुनेछ । प्रतियोगिताको विस्तृत खेल तालिका आईसीसीले पछि सार्वजनिक गर्ने जनाएको छ ।
नेपालमा पहिलोपटक महिला टी–२० विश्वकप छनोट आयोजना हुन लाग्दा नेपाली क्रिकेटमा ऐतिहासिक उपलब्धि थपिएको छ । यसले देशको महिला क्रिकेटको विकासमा समेत महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।








