बीवाईडीको नयाँ विद्युतीय SUV ‘सिलायन ७’ नेपालमा सार्वजनिक

काठमाडौं । चीनको अग्रणी विद्युतीय सवारी निर्माता बीवाईडीको नयाँ मोडेल ‘सिलायन ७ (Sealion 7)’ नेपालमा सार्वजनिक गरिएको छ । नेपालका लागि आधिकारिक वितरक साइमेक्स इन्क. प्रा. लि. ले यो एसयूभी एक विशेष समारोहबीच बजारमा ल्याएको हो ।
साइमेक्स इन्क.ले नेपाली बजारमा बीवाईडीको यो छैठौँ मोडेल सार्वजनिक गर्दै प्रिमियम इलेक्ट्रिक एसयूभी सेग्मेन्टमा नयाँ प्रतिस्पर्धा सुरु गरेको छ । कम्पनीका अनुसार यो गाडीले आधुनिक प्रविधि, आरामदायी यात्रा, र वातावरणमैत्री दक्षतामा नयाँ मापदण्ड स्थापित गर्नेछ ।
कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चेन सोङको विशेष उपस्थिति रहेको थियो । उनले विद्युतीय सवारीको विकासमार्फत चीन-नेपाल सहकार्य थप सशक्त हुने विश्वास व्यक्त गरे ।

बीवाईडी सिलायन ७ मा १०० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर जडान गरिएको छ, जसले ३८० न्युटन मिटर टर्क उत्पन्न गर्छ । गाडीमा प्रयोग गरिएको ७१.८ kWh क्षमताको ब्लेड ब्याट्रीले एक पटक चार्जमा ४४० किलोमिटर (WLTP मापन अनुसार) यात्रा गर्न सक्ने बताइएको छ ।
यो मोडेल बीवाईडीको ‘Ocean Series’ अन्तर्गतको गाडी हो, जुन अत्याधुनिक ई-प्ल्याटफर्म ३.० मा आधारित छ। सेल-टु-बडी (CTB) इन्टीग्रेशन प्रविधिको प्रयोगले ब्याट्री गाडीको संरचनाको अभिन्न भाग भएको जनाइएको छ ।

मूल्य र वारेन्टी
साइमेक्स इन्कले ‘अर्ली बर्ड अफर’ अन्तर्गत सिलायन ७ को मूल्य रु ७२.९९ लाख तोकेको छ । सीमित अवधिका लागि लागू हुने यो अफरपछि गाडीको नियमित मूल्य रु ७४.९९ लाख हुनेछ ।
साथै, अर्ली बर्ड बुकिङकर्ताका लागि विशेष वारेन्टी प्याकेज पनि उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ:
ब्याट्री वारेन्टी: १० वर्ष वा २,००,००० किलोमिटर
मोटर वारेन्टी: १० वर्ष वा १,८७,५०० किलोमिटर
गाडी वारेन्टी: ७ वर्ष वा १,५०,००० किलोमिटर
बीवाईडीका ग्लोबल डिजाइन निर्देशक वोल्फग्याङ एगरको नेतृत्वमा तयार गरिएको सिलायन ७ लाई कम्पनीले ‘स्पोर्टी फास्टब्याक’ डिजाइनको रूपमा प्रस्तुत गरेको छ । गाडीमा LED हेडलाइट, LED टेललाइट बार, १५.६ इन्चको रोटेटेबल टचस्क्रिन, एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट, र भ्वाइस कमाण्डजस्ता विशेषताहरू रहेका छन् ।
ड्राइभिङको अनुभवलाई सहज बनाउने उद्देश्यले यसमा डबल विशबोन फ्रन्ट र मल्टि-लिंक रियर सस्पेन्सन तथा FSD ड्याम्पर प्रणाली राखिएको छ, जसले नेपाली सडकमा सन्तुलित र आरामदायी यात्रा सुनिश्चित गर्ने बताइएको छ।

साइमेक्स इन्क.का प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले बीवाईडी सिलायन ७ नेपाली उपभोक्ताको आवश्यकता र भौगोलिक अवस्थालाई ध्यानमा राखी ल्याइएको बताए । “दिगो यातायातको माग बढ्दै गर्दा, सिलायन ७ ले विद्युतीय सवारी प्रतिको हाम्रो प्रतिबद्धतालाई थप सशक्त बनाउनेछ,” उनले भने ।
बीवाईडी सिलायन ७ को आगमनसँगै नेपालमा विद्युतीय सवारीको रूपान्तरण अभियानलाई थप तीव्रता दिने कम्पनीको विश्वास छ।
बीवाईडी सिलायन ७ सार्वजनिक भएसँगै, साइमेक्स इन्क।ले नेपालमा विद्युतीय सवारीमा रूपान्तरणलाई तीव्र बनाउन आफ्नो अभियानलाई निरन्तरता दिइरहेको छ ।
नेपालको बजारमा साइमेक्सले ल्याएको छैठौं बीवाईडी मोडेलको रूपमा, सिलायन ७ ले अत्याधुनिक प्रविधि, प्रिमियम कम्फर्ट, र उद्देश्यपूर्ण डिजाइनको संयोजन गर्दै नेपालको ईभी बजारमा आफुलाई एक प्रमुख फ्ल्यागशिपको रूपमा स्थापित गरेको छ।








