जनकवि थापाले सुरु गर्नुभएको ऋतु पत्रिका ‘डाँफेचरी’को पुनः प्रकाशन

काठमाडौं । वि.सं २०१० मा जनकवि केशरी धर्मराज थापाले प्रकाशन सुरु गरेको अनुसन्धानमूलक लोक साहित्य, संस्कृति प्रधान ऋतु पत्रिका ‘डाँफेचरी’ को पुनःप्रकाशन सुरु भएको छ ।
थापाको १०१ औँ जन्मजयन्तीका अवसरमा जनकवि केशरी धर्मराज सावित्री थापा प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा पत्रिका सार्वजनिक गरिएको हो ।
पत्रिका लोकार्पण एवं ‘सम्झनामा धर्मराज थापा’ साङ्गीतिक समारोहमा प्रा डा चूडामणि बन्धु, प्रा डा दयाराम श्रेष्ठ ‘सम्भव’, संस्कृतीविद् डा जगमान गुरुङ, प्रा रमा शर्मा, पूर्वमन्त्री राधाकृष्ण मैनालीलगायतका अतिथिहरुले सामूहिक रुपमा सार्वजनिक गरे । सो अवसरमा उनीहरुले धर्मराज थापाको गायन एवं साहित्यक योगदानका बारेमा चर्चा गरे ।
प्रतिष्ठानका अध्यक्ष मदनराज थापाले सबै नेपालीको हृदयमा बस्न सफल जनकवि धर्मराज थापाको जीवनका झझल्कोलाई समेटेर पत्रिकाको पुनःप्रकाशन गरिएको बताए ।
उनले थापाको काव्य र सङ्गीत आज पनि नेपाल र नेपालीको आत्मा र संस्कृतिभित्र जिउँदो रहेको बताउँदै उनका सिर्जनालाई राज्यका तर्फबाट खोज तथा अनुसन्धान र संरक्षण गर्नुपर्ने धारणा राखे ।
त्यस अवसरमा वरिष्ठ कलाकारहरु प्रेमराजा महत, विकासजङ्ग राणा, सीता श्रेष्ठ र सन्देश श्रेष्ठले जनकवि केशरी थापाका गीतसहित आआफ्ना सृजनाहरु प्रस्तुत गरेका थिए ।
किशोर अवस्थादेखि नै कविता, दोहोरी भजन र मौलिक गीतमा रुचि राख्नुहुने धर्मराज थापा नेपाली गीतसङ्गीतको आधिकारिक आवाज थिए । ‘घर मेरो टाढा’, ‘कोही न हाँस्ने कोही न रुने’, ‘माथि माथि सैलुङ्गे डाँडा’, ‘आज मादल बजेको किन’, ‘धुरुधुरु नरोउ आमा’, ‘हाम्रो तेञ्जीन शेर्पाले’, ‘नेपालीलाई लैजाने हो नयाँ नौलो बाटो’, ‘हरियो डाँडामाथि हलो जोत्ने साथी’जस्ता अमर कालजयी गीतहरू गाएर नेपाली जनताको हृदयमा अमिट छाप छोडेका छन् ।
उनको पहिलो रेकर्ड भएको गीत ‘माथि माथि सैलुङ्गे डाँडा’ थियो । उनको जन्म १९८१ साउन १ गते कास्की जिल्लाको बाटुलेचौरमा भएको थियो भने निधन २०७१ असोज २९ गते काठमाडौँमा भएको थियो ।








