मौद्रिक नीतिको प्रभावः बैंकहरुले ब्याजदर झनै घटाए, अब जनताले बैंकमा पैसा राख्लान् ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको तत्काल प्रभाव स्वरूप वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदरमा भारी कटौती गरेका छन् । बजारमा तरलता प्रवाह बढाउने केन्द्रीय बैंकको नीतिको अनुसरण गर्दै अधिकांश बैंकहरूले साउन महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन्, जसले गर्दा बचतकर्ताहरूमा आफ्नो बचतको प्रतिफल घट्ने चिन्ता छाएको छ ।

राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले सार्वजनिक गरेको मौद्रिक नीतिमा ब्याजदर करिडोरको माथिल्लो सीमा (बैंक दर) लाई ६.५ प्रतिशतबाट ६ प्रतिशतमा र तल्लो सीमा (निक्षेप संकलन दर) लाई ३ प्रतिशतबाट घटाएर २.७५ प्रतिशतमा झारिएको थियो । त्यसैगरी, ५ प्रतिशत रहेको नीतिगत दरलाई ४.५ प्रतिशतमा कायम गरिएको थियो । यही नीतिगत परिवर्तनको प्रत्यक्ष प्रभाव स्वरूप बैंकहरूले ब्याजदर घटाएका हुन् ।

साउन महिनाका लागि बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर सूचीअनुसार, अधिकांशले असारको तुलनामा ब्याजदर घटाएका छन् । यस दौडमा प्रभु बैंक सबैभन्दा अगाडि देखिएको छ, जसले असारमा मुद्दती निक्षेपमा दिँदै आएको ६.१० प्रतिशत ब्याजलाई भारी कटौती गरी साउनका लागि ४.२५ प्रतिशतमा झारेको छ । यो वाणिज्य बैंकहरूमध्येकै सबैभन्दा ठूलो कटौती हो ।

त्यस्तै, एनआईसी एशिया र एभरेष्ट बैंकले समान ०.३० प्रतिशत विन्दुले ब्याजदर घटाउँदै ६.५५ प्रतिशतबाट ६.२५ प्रतिशतमा झारेका छन् । राष्ट्रिय वाणिज्य बैंकले पनि ०.५० प्रतिशत विन्दुले ब्याजदर घटाएर ५.५० प्रतिशत कायम गरेको छ ।

ब्याजदर घटाउने लहर चल्दा ग्लोबल आईएमई, माछापुच्छ्रे, सिद्धार्थ र एनएमबी बैंकले भने असारकै ब्याजदरलाई निरन्तरता दिएका छन् । यी बैंकहरूले साउनमा पनि क्रमशः ६%, ६%, ५.७५% र ६% ब्याजदर नै दिनेछन् ।

यसको ठीक विपरीत, स्टान्डर्ड चार्टर्ड र हिमालयन बैंकले भने ब्याजदर बढाएका छन् । स्टान्डर्ड चार्टर्डले आफ्नो ब्याजदर ६.२५ प्रतिशतबाट सामान्य बढाएर ६.२६ प्रतिशत पुर्‍याएको छ भने हिमालयन बैंकले असारको ५.५० प्रतिशतबाट बढाएर साउनका लागि ६ प्रतिशत ब्याजदर तोकेको छ ।

बैंकहरूको साउन महिनाको नयाँ ब्याजदर (मुद्दती निक्षेपमा)

बैंकको नामअसारको ब्याजदर (%)साउनको ब्याजदर (%)परिवर्तन
प्रभु बैंक६.१०४.२५-१.८५
राष्ट्रिय वाणिज्य बैंक६.००५.५०-०.५०
एनआईसी एशिया बैंक६.५५६.२५-०.३०
एभरेष्ट बैंक६.५५६.२५-०.३०
कुमारी बैंक५.७१५.४१-०.३०
लक्ष्मी सनराइज बैंक५.७५५.५०-०.२५
नबिल बैंक५.७५५.५०-०.२५
प्राइम कमर्सियल बैंक६.२५६.००-०.२५
इन्भेस्टमेन्ट मेगा बैंक५.५०५.२५-०.२५
सानिमा बैंक६.३३६.१८-०.१५
नेपाल एसबीआई बैंक५.५०५.३५-०.१५
सिटिजन्स बैंक५.६५५.५०-०.१५
कृषि विकास बैंक५.४५५.४०-०.०५
नेपाल बैंक५.४५५.४०-०.०५
ग्लोबल आईएमई बैंक६.००६.००स्थिर
माछापुच्छ्रे बैंक६.००६.००स्थिर
सिद्धार्थ बैंक५.७५५.७५स्थिर
एनएमबी बैंक६.००६.००स्थिर
स्टान्डर्ड चार्टर्ड बैंक६.२५६.२६+०.०१
हिमालयन बैंक५.५०६.००+०.५०

बचतकर्तामा निराशा र पुँजी पलायनको जोखिम

बैंकहरूले मुद्दती निक्षेपमा यति भारी मात्रामा ब्याजदर कटौती गरेको यो पहिलो पटक हो । ब्याजदरमा आएको यो तीव्र गिरावटका कारण साधारण बचतकर्ताहरूमा आफ्नो कमाइको प्रतिफल घट्ने चिन्ता बढेको छ । बैंकको निक्षेपबाट आकर्षक प्रतिफल नआउने भएपछि पुँजी अनुत्पादक क्षेत्र वा अनौपचारिक अर्थतन्त्रतर्फ पलायन हुन सक्ने जोखिम बढेको विज्ञहरू बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + seventeen =