चलचित्र ‘जनै हराएको मान्छे’ को टिजर सार्वजनिक, विजयको विदेश मोह र सम्बन्धको द्वन्द्व (भिडिओ)

काठमाडौं । प्रतिक्षित चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को टिजर सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक गरिएको टिजरले एक साधारण व्यक्तिको विदेश जाने सपना, त्यसका लागि गर्ने संघर्ष र सम्बन्धमा आउने उतारचढावको मार्मिक कथा प्रस्तुत गरेको छ ।
टिजरमा मुख्य पात्रको रूपमा देखिएका अभिनेता विजय बराल कोरिया जाने सपना बोकेर गाउँबाट सहर पसेको देखाइएको छ । परम्परागत पारिवारिक पृष्ठभूमि र पुरोहित बुबाको इच्छाविपरीत कोरियाली भाषा पढ्न काठमाडौं आएको एक युवाको यात्रालाई टिजरले संकेत गरेको छ । सहरको कठिन जीवन, नयाँ प्रेमको उदय र गाउँमा गाउँमा छुटेकी माया गर्ने दिदीसँगको भावनात्मक द्वन्द्वले चलचित्रको कथावस्तु गहन रहेको अनुमान लगाउन सकिन्छ ।
टिजरमा विजयका साथै अभिनेत्री केकी अधिकारी र मिरुना मगर पनि मुख्य भूमिकामा प्रस्तुत छन् । यी तीन पात्रबिचको सम्बन्धको त्रिकोणात्मक द्वन्द्वले चलचित्रलाई थप रोचक बनाउने देखिन्छ ।
यसअघि निर्माण टिमले काठमाडौंसहित देशका आठ प्रमुख सहरबाट एकैसाथ बेलुन उडाएर चलचित्रको पोस्टर सार्वजनिक गर्दै प्रचारप्रसारमा नयाँपन दिएको थियो । निर्माता विमल न्यौपानेले चलचित्रलाई लिएर दर्शकमा उत्सुकता जगाउन र देशव्यापी रूपमा प्रचार गर्न फरक शैली अपनाइएको बताए । हिमाल न्यौपानेद्वारा निर्देशित यो चलचित्र भानुभक्त ढकालको कथा, पटकथा र संवादमा आधारित छ ।
चलचित्रमा विजय, केकी र मिरुनाका साथै गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । ‘पूर्णबहादुरको सारंगी’ जस्तो ब्लकबस्टर चलचित्रपछि विजय बरालको मुख्य भूमिकामा आउन लागेको यो पहिलो चलचित्र हो ।
यसैबीच चलचित्रको निर्माण टिमले मुख्य कलाकार विजय बराल र सम्पादक भरत रेग्मीलाई सम्मान समेत गरेको छ । बरालले सोमबार उत्कृष्ट अभिनेता घोषित हुँदै राष्ट्रिय चलचित्र पुरस्कार २०८१ पाएका छन् भने रेग्मीले सम्पादन तर्फ अवार्ड पाएका थिए ।
पेपरक्लिपको ब्यानरमा कमल न्यौपाने र विमल न्यौपानेले निर्माण गरेको चलचित्रका कार्यकारी निर्माता नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन हुन् । चलचित्र भदौ ६ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शन हुनेछ ।








