विश्वकप छनोटका लागि प्रारम्भिक टोली घोषणा, आदिल र पवन पनि समावेश

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी अक्टोबरमा ओमानमा हुने आईसीसी पुरुष टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्र अन्तर्गतको अन्तिम चरण छनोट प्रतियोगिताका लागि तयारी क्याम्प सुरू गर्ने उद्देश्यले आइतबार ३२ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ ।
क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार घोषित टोलीमा अनुभवी तथा युवा खेलाडी दुवैलाई समावेश गरिएको छ । टोलीको नेतृत्वमा रोहितकुमार पौडेल छन् भने दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, अनिल साह र आसिफ शेख पनि प्रारम्भिक टोलीमा परेका छन् ।
अन्य प्रमुख खेलाडीमा लोकेश बम, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, नन्दन यादव, करण केसी, सोमपाल कामी, रिजन ढकाल, सन्दीप लामिछाने, प्रतीस जीसी, ललितनारायण राजवंशी र गुलशनकुमार झा छन् ।
यसका साथै रूपेशकुमार सिंह, बसिर अहमद, साहब आलम, युवराज खत्री, किरण ठगुन्ना, सागर ढकाल, आकाश चन्द, विवेककुमार यादव, आदिल अन्सारी, पवन सर्राफ, सन्दीप जोरा, शेर मल्ल, शुभ कंसकार, अर्जुन घर्ती र कमलसिंह ऐरीले पनि टोलीमा स्थान पाएका छन् ।
नेपाल समूह ‘बी’ मा
टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रको छनोट प्रतियोगिता आगामी अक्टोबर ८ देखि १७ सम्म ओमानमा आयोजना हुनेछ । प्रतियोगितामा सहभागी ९ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ। नेपाल समूह ‘बी’ मा परेको छ, जहाँ कुवेत र जापान प्रतिस्पर्धी छन् ।
समूह ‘ए’ मा मलेसिया, कतार र यूएई छन् भने समूह ‘सी’ मा ओमान, पपुवा न्यू गिनी र सामोआ रहेका छन् ।
नेपालले समूह चरणमा अक्टोबर ८ मा कुवेतसँग तथा अक्टोबर १० मा जापानसँग खेल्नेछ । समूह चरणको खेलपछि प्रत्येक समूहका दुई शीर्ष टोली ‘सुपर–६’ चरणमा प्रवेश गर्ने छन् ।
‘सुपर–६’ मा समावेश हुने ६ टोलीबीच प्रतिस्पर्धा गराईनेछ र अन्ततः शीर्ष तीन टोली सन् २०२६ मा भारत–श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने टी–२० विश्वकपमा छनोट हुनेछन् ।








