रसुवा बाढीको वितण्डाले धुलिखेलको उच्चस्तरीय सुरक्षा गोष्ठी स्थगित

काठमाडौं । रसुवाको चिलिमे क्षेत्रमा गएको विनाशकारी बाढीमा परी सुरक्षाकर्मीसहित १६ जना बेपत्ता भएपछि धुलिखेलमा जारी वागमती प्रदेशस्तरीय उच्चस्तरीय सुरक्षा गोष्ठी आकस्मिक रूपमा छोट्याइएको छ । राष्ट्रिय विपद्को यो घडीमा सम्पूर्ण ध्यान खोज, उद्धार र राहतमा केन्द्रित गर्नुपर्ने निष्कर्षसहित गृहमन्त्री, मुख्यमन्त्री तथा सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा गोष्ठी स्थगित गर्ने निर्णय लिइएको हो ।

वागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछानेले उद्घाटन गरेको उक्त गोष्ठीमा प्रदेशको समग्र सुरक्षा अवस्था, चुनौती र भावी रणनीतिबारे गहन छलफल गर्ने कार्यक्रम थियो । तर, रसुवामा भएको मानवीय क्षतिको खबरसँगै बैठकको प्राथमिकता तत्काल परिवर्तन भयो । गृहमन्त्री रामेश लेखक, वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा (तामाङ), नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू, विपद् जोखिम न्यूनीकरण प्राधिकरणका कार्यकारी प्रमुख लगायतको उपस्थितिमा खोज तथा उद्धारलाई पहिलो प्राथमिकतामा राख्ने सहमति जुट्यो ।

निर्धारित तालिकाअनुसार अन्तर-जिल्ला समन्वय सत्र र अन्य प्रस्तुतिहरू स्थगन गरिए पनि उद्घाटनपछि पूर्वनिर्धारित सुरक्षा ब्रिफिङ सत्र भने सञ्चालन गरियो । उक्त सत्रमा प्रदेशको सुरक्षा रणनीति, विपद् व्यवस्थापन, आपतकालीन तयारी र सूचना प्रवाहजस्ता महत्त्वपूर्ण विषयमा संक्षिप्त छलफल भएको थियो ।

गोष्ठीमा सहभागी १३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख तथा गृह मन्त्रालयका वरिष्ठ अधिकारीहरूले रसुवाको गम्भीर अवस्थालाई तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिँदै कार्यक्रम छोट्याउने निर्णयको स्वागत गरे । गृह मन्त्रालयले बाढीको तत्कालिन स्थिति, बेपत्ता सुरक्षाकर्मीको अवस्था र मानवीय क्षतिबारे तत्काल समन्वय गरी आवश्यक निर्देशन दिइसकेको जनाएको छ । धुलिखेलमा भेला भएका राष्ट्रिय र प्रदेशस्तरका सम्पूर्ण सुरक्षा तथा प्रशासनिक संयन्त्रको ध्यान अब रसुवाको विपद् व्यवस्थापन र मानवीय क्षतिको न्यूनीकरणमा केन्द्रित भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =