प्रधानमन्त्रीसँग रेशम चौधरीको बालुवाटारमा गोप्य भेट

काठमाण्डौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले सोमबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा एक्लाएक्लै भेट गरेका छन् ।

करिब एक घन्टासम्म गोप्यरूपमा भएको भेटवार्तामा दुबै नेताबीच पछिल्लो राजनीतिक घटनाक्रम र सत्ता समीकरणबारे छलफल भएको स्रोतको दाबी छ ।

प्रधानमन्त्री ओलीको सचिवालयले समेत रेशम चौधरीसँग भेटवार्ता भएको पुष्टि गरेको छ । भेटका क्रममा चौधरीले पार्टीले संघीय र प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको निर्णयका सन्दर्भमा आफ्ना धारणा राखेका थिए ।

नाउपाले केही दिनअघि ओली नेतृत्वको संघीय सरकार तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

सुदूरपश्चिम प्रदेशमा मन्त्री रहेका नाउपाका रामेश्वर चौधरीलाई हाते ट्याक्टर वितरणमा अनियमितता आरोप लगाउँदै मुख्यमन्त्री कमलबहादुर शाहले बर्खास्त गरेपछि पार्टी आक्रोशित बनेको थियो ।

पार्टीको निर्णयसँगै संघीय सरकारमा राज्यमन्त्री रहेका सांसद अरुणकुमार चौधरी पनि पदबाट राजीनामा दिने तयारीमा छन् । यद्यपि, रेशम चौधरी र प्रधानमन्त्री ओलीबीचको पछिल्लो भेटलाई समर्थन फिर्ता फिर्ता लिने निर्णयमा पुनर्विचार हुनसक्ने संकेतको रूपमा हेरिएको छ ।

भेटमा ओलीले नाउपाको गुनासो सम्बोधन गर्ने प्रयाससहित सहकार्यलाई निरन्तरता दिने प्रस्ताव गरेका थिए भने रेशम चौधरीले पार्टीको हितलाई ध्यानमा राखेर निर्णय लिइने बताएका थिए ।

यसैबीच, नाउपाभित्र समर्थन फिर्ता लिने निर्णयलाई लिएर गहिरो समीक्षा भइरहेको स्रोतले जनाएको छ । अबको केही दिनभित्रै पार्टीको आधिकारिक धारणा पुनः सार्वजनिक हुने सम्भावना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − fourteen =