रोशीको कहरमा बिलाएको बीपी राजमार्ग : वर्ष बित्यो, जोखिम उस्तै (तस्बिरहरु)

काठमाडौं । गत वर्ष असोज १२ गतेको रात रोशी खोला र यसका सहायक खोलाहरूमा उर्लिएको बाढीले आफ्नो रौद्र रूप देखायो । त्यसैको चपेटामा पर्यो मध्यपहाडको जीवनरेखा मानिने बीपी राजमार्ग । बाढीले तहसनहस भएको यो सडक खण्ड आज एक वर्ष बितिसक्दा पनि उस्तै छ । राजमार्गको घाउ आलै छ, र यात्रुहरूको यात्रा उस्तै जोखिमपूर्ण ।
काभ्रेपलान्चोकको भकुण्डेबेशीबाट सिन्धुलीको नेपालथोकसम्मको करिब ३० किलोमिटर खण्डमा प्रवेश गर्दा जोकोही झुक्किन्छ- हामी राजमार्गमा छौँ कि खोलाको बगरमा ? राजमार्गका चिल्ला कालोपत्रे सडकहरू आज रोशी खोलाको बगरमा परिणत भएका छन् । करिब १२ किलोमिटर सडक पूर्ण रूपमा खोलाले बगाएको छ भने ५ किलोमिटरभन्दा बढी भाग क्षतविक्षत छ । सडकको नामोनिसान मेटिएका ठाउँमा ढुंगा र बालुवामाथि सवारी साधन गुड्छन्, जहाँ हरेक पल अनिश्चितताको भय हुन्छ ।
अहिले खोलाकै सतहबाट बनाइएको अस्थायी डाइभर्सन नै यहाँको एक मात्र सहारा हो । आकाशमा अलिकति बादल मडारिनासाथ वा सानो झरी पर्नासाथ चालक र यात्रुको मनमा डरको बादल छाउँछ। पानीको बहाव बढ्नेबित्तिकै यो अस्थायी बाटो बन्द हुन्छ र घण्टौँ, कहिलेकाहीँ दिनभर नै यात्रुहरू अलपत्र पर्छन् ।
राजमार्गको यो दुर्दशाप्रति सरकारी निकायले पर्याप्त ध्यान दिएको छैन । क्षतविक्षत राजमार्गको तत्काल र दीर्घकालीन मर्मतमा जुट्नुको साटो सरकारले रातको समयमा सवारी सञ्चालनमा रोक लगाएर आफ्नो जिम्मेवारी पूरा भएको ठानिरहेको छ । यो निर्णयले अस्थायी रूपमा दुर्घटना टार्न सघाए पनि राजमार्ग पुनर्निर्माणको मूल मुद्दालाई ओझेलमा पारेको छ ।
रोशी खोलाको कटानले बीपी राजमार्गमा पुर्याएको क्षति प्राकृतिक प्रकोप थियो, तर एक वर्षसम्म पनि यसको पुनर्निर्माणमा देखिएको सुस्तता र उदासीनता मानवीय कमजोरी हो । जबसम्म दिगो पुनर्निर्माणको काम सुरु हुँदैन, तबसम्म यो राजमार्गमा यात्रा गर्ने हजारौँ यात्रुहरूको यात्रा जोखिम र अनिश्चितताले भरिपूर्ण रहिरहनेछ ।









