अपराजित रहँदै च्याम्पियन बनेको यू-१६ क्रिकेट टोलीको स्वागत

कप्तान भन्छन्– अपराजित रहनुको खुशी बेग्लै, प्रशिक्षकले देखे ब्याटिङमा सुधारको आवश्यकता

काठमाडौं । मलेसियामा सम्पन्न एसीसी पुरुष यू-१६ इस्ट जोन कपमा अपराजित रहँदै उपाधि चुमेको नेपाली राष्ट्रिय क्रिकेट टोली आइतबार राति स्वदेश फर्किएको छ । लगातार चौथो पटक प्रतियोगिताको उपाधिमाथि कब्जा जमाएर ऐतिहासिक सफलता हासिल गरेको युवा टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको थियो ।

शनिबार भएको रोमाञ्चक फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी सिंगापुरलाई २ विकेटले पराजित गर्दै नेपालले उपाधि रक्षा गरेको थियो । उपाधि विजेता खेलाडीहरूको अनुहारमा जितको उत्साह देखिन्थ्यो । विमानस्थलमा उनीहरूलाई खेलकुद पदाधिकारी, सञ्चारकर्मी तथा क्रिकेट समर्थकहरूले स्वागत गरेका थिए । यो जितसँगै नेपालले यस प्रतियोगितामा आफ्नो दबदबा कायमै राखेको छ ।

यसअघि नेपालले सन् २०१७, २०१९ र २०२३ मा पनि उपाधि जितेको थियो । यो सफलताले नेपाली क्रिकेटको तल्लो तहको संरचना र प्रतिभाको बलियो उपस्थितिलाई पुनः एकपटक प्रमाणित गरेको छ ।

स्वदेश फर्किएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै टोलीका कप्तान विपिनप्रसाद शर्माले प्रतियोगिताभर कुनै पनि खेल नहारी उपाधि जित्नु विशेष उपलब्धि भएको बताए । ‘टिमको लागि यो निकै खुशीको क्षण हो । हामीले प्रतियोगिताभर अपराजित रहँदै उपाधि जित्यौँ, यसको छुट्टै महत्व छ,’ उनले भने, ‘यसअघि खेलेका विभिन्न प्रतियोगिताको अनुभवले हामीलाई परिपक्व बनायो र कठिन परिस्थितिमा पनि संयमित भएर खेल्न मद्दत गर्‍यो । त्यही अनुभवले आज हामीलाई च्याम्पियन बनाएको हो ।’

प्रशिक्षकको विश्लेषण: ब्याटिङमा सुधार अनिवार्य
टोलीका मुख्य प्रशिक्षक दीपेन्द्रबहादुर चन्दले खेलाडीहरूको प्रदर्शनप्रति सन्तुष्टि व्यक्त गरे पनि सुधार गर्नुपर्ने पक्षहरू औंल्याए । ‘हाम्रो टोली सन्तुलित र बलियो थियो । हामीले विपक्षी टिमहरूको बारेमा राम्रो अध्ययन गरेका थियौं, जसले रणनीति बनाउन सहज भयो,’ उनले भने, ‘हामीले हरेक खेललाई फाइनलजस्तै ठानेर खेलेका थियौं ।’

प्रशिक्षक चन्दले नेपाली टोलीको ब्याटिङमा अझै सुधारको खाँचो रहेको स्पष्ट पारे । ‘फाइनल खेलमा हामीले सोचेजस्तो ब्याटिङ गर्न सकेनौं । लक्ष्य सामान्य भए पनि हामीले अन्तिमसम्म संघर्ष गर्नुपर्‍यो । आगामी दिनमा ब्याटिङ पक्षलाई अझ बलियो बनाउन हामीले विशेष ध्यान दिनुपर्छ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − three =