अखिल क्रान्तिकारीद्वारा त्रिवि पदाधिकारीलाई प्रवेशमा रोक

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूलाई कार्यालय प्रवेशमा रोक लगाएको छ ।

सर्वोच्च अदालतको आदेशमा विश्वविद्यालयमा लगाइएको ताला खोलेपछि पनि क्रान्तिकारी विद्यार्थीहरूले त्रिविका उपकुलपतिसहित अन्य पदाधिकारीहरूलाई प्रवेश गर्न नदिएका हुन् ।

सर्वोच्च अदालतले बुधबार त्रिविमा लगाइएको ताला तत्काल खोल्न गृह मन्त्रालय, प्रहरी र प्रशासनलाई निर्देशन दिएको थियो । आदेशपछि शुक्रबार बिहान आंशिक प्राध्यापकहरूले आफैं ताला खोलेका थिए ।

ताला खोलिएसँगै नेविसंघ र अखिल क्रान्तिकारी निकट विद्यार्थी तथा आंशिक प्राध्यापकहरूको समन्वयमा त्रिवि प्रशासन खुला गरिएको थियो । तर, क्रान्तिकारी विद्यार्थी संगठनले त्रिविका पदाधिकारीहरूलाई प्रवेशमा रोक लगाउँदै आफ्नो आन्दोलन जारी राखेको जनाएको छ ।

अखिल क्रान्तिकारी त्रिवि कार्यवाहक अध्यक्ष शिवराज भट्टले जारी गरेको विज्ञप्तिमा माग पूरा नभएसम्म पदाधिकारीहरूको प्रवेश निषेध गरिने उल्लेख गरिएको छ ।

त्रिविमा आंशिक प्राध्यापकहरूको समायोजन, सेवा सुरक्षालगायत मागमा प्राध्यापक र विद्यार्थी संगठनहरू आन्दोलनमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + one =