हवाई सेवा देशको कूटनीति हो, कालोसूचीले अन्तर्राष्ट्रिय बेइज्जत भयो : सुदन किराँती

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले हवाई सेवा देशको कूटनीति र अन्तर्राष्ट्रिय छवि भएको बताएका छन् । शुक्रवार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ माथिको छलफलमा बोल्दै सांसद किराँतीले यस्तो धारणा राखेका हुन् ।

उनले युरोपेली संघ (ईयू) को कालोसूचीमा नेपाल निरन्तर रहँदा विश्व समुदायमा ‘नेपाल कामै नगर्ने देश’ भन्ने नकारात्मक सन्देश प्रवाह भएको भन्दै गहिरो चिन्ता व्यक्त गरे । उड्डयन क्षेत्रको प्रभावकारी सेवा र विकासका लागि विधेयक अत्यावश्यक भए पनि एक दशकभन्दा लामो समयदेखि टुंगोमा पुग्न नसक्नु दुःखद भएको उनले बताए ।

‘हवाई सेवा देशको कूटनीति र छवि हो । यसको सुधारका लागि यो विधेयक अति आवश्यक छ, तर हामीले १२ वर्षभन्दा बढी समय खेर फालिसक्यौँ,’ उनले भने, ‘युरोपेली संघको कालोसूचीले सबैभन्दा ठूलो र प्रत्यक्ष क्षति राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई पुर्‍याएको छ । विदेशी वायुसेवालाई यहाँ उड्न रोकतोक छैन, तर हाम्रो आफ्नै ध्वजावाहक युरोपको आकाशमा प्रतिबन्धित छ ।’

उनले अन्य नेपाली वायुसेवा कम्पनीसँग युरोप उडान गर्ने क्षमताका जहाज नभएको यथार्थ औंल्याउँदै कालोसूचीको मार केवल नेपालको राष्ट्रिय पहिचान बोकेको निगमले खेप्नुपरेको बताए । कालोसूचीबाट हटाउन भइरहेको ढिलाइले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठामा गम्भीर आँच पुगेकोमा जोड दिँदै उनले भने, ‘यसले ‘नेपाल कामै नगर्ने देश हो’ भन्ने सन्देश अन्तर्राष्ट्रिय स्तरमा फैलाइरहेको छ, जुन हाम्रो लागि ठूलो क्षति हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =