कुलिङ पिरियडमा षड्यन्त्र भयो, अन्तिममा पढ्नै दिइएन : माओवादी केन्द्र

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले कुलिङ पिरियडबारे ‘छेडखानी मात्र होइन, षड्यन्त्र’ भएको ठहर गरेका छन् ।

बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले विधेयकमा गरिएको हेरफेर गम्भीर नियतसाथ भएको दाबी गरे ।

‘कुलिङको विषय आजको होइन, यो छेडखानी मात्रै होइन, षड्यन्त्र हो, योजनाबद्ध रूपमा भएको हो,’ पाण्डेले भने, ‘देशलाई सपार्ने हो भने आफ्नो अनुहार होइन, नेपाल आमाको अनुहार हेर्नुपर्छ ।’

उनले मुख्यसचिवदेखि सहसचिवसम्मका सम्बन्धित अधिकारीहरूसमेत छानबिनको दायरामा ल्याउनुपर्ने धारणा राखे । ‘कोको सहभागी भए, त्यो थाहा पाउनुपर्छ,’ उनले भने, ‘त्रुटी भयो भनेर उम्किने ठाउँ छैन ।’

पाण्डेले समितिका सदस्यहरूले विधेयकको अन्तिम मस्यौदा पढ्नै नपाएकोप्रति पनि आपत्ति जनाए । ‘समितिका सदस्यलाई अन्तिममा विधेयक पढ्न नदिइएको भन्ने कुरा आएको छ, यो गम्भीर हो,’ उनले भने, ‘सदस्यहरूलाई छल गरेर विधेयक लैजाने काम गलत हो ।’

यसअघि एमाले र कांग्रेसका सांसदहरूले पनि यो प्रकरणमा कडा आपत्ति जनाउँदै राजीनामा र छानबिन समिति गठनको माग गरिसकेका छन् ।

सांसद पाण्डेले निष्पक्ष छानबिनमार्फत दोषीको पहिचान गरी कडा कारबाही नभए संसदप्रति जनविश्वास थप घट्ने चेतावनी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 2 =