सुशासन कायम गरी क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका छ : मुख्यमन्त्री शाह

गोदावरी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रमले सुशासन कायम गर्न र क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित कार्यक्रमको प्रादेशिक निर्देशक समितिको दोस्रो बैठकमा बोल्दै उनले कार्यक्रममार्फत जनप्रतिनिधिहरू थप उत्तरदायी र जिम्मेवार बनेको उल्लेख गरे । जनतासँग नजिक रहेर सेवा प्रवाह गर्न कार्यक्रमले मद्दत गरेको उनको भनाइ थियो ।
उनले प्रदेशको विकास प्राथमिकता, योजना र कार्यक्रमहरूलाई साझा दृष्टिकोणबाट कार्यान्वयन गर्न पारदर्शिता, जवाफदेहिता र समन्वयलाई सुदृढ पार्न साझा प्रयास आवश्यक रहेको बताए ।
मुख्यमन्त्री शाहले सुदूरपश्चिमको समावेशी, दिगो र सन्तुलित विकास सुनिश्चित गर्न प्रदेश सरकार र विकास साझेदार संस्थाबीचको सहकार्यलाई अझ संस्थागत, प्रभावकारी र परिणाममुखी बनाउनुपर्नेमा जोड दिए ।
प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम सुदूरपश्चिमका ८८ वटै स्थानीय तहमा सञ्चालनमा रहेको छ ।








