सांसदको काम आफ्नो क्षेत्रमा दुई–चार करोड बजेट लैजाने मात्रै भयो : अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसदलाई प्रभावकारी बनाउने कार्यमा सांसदहरू र सरकार दुवै गम्भीर बन्नुपर्नेमा जोड दिएका छन् ।
संसद दिवस २०८२ को अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख दाहालले सांसदहरूले संसदमा नागरिकका समस्या उठाउने तर त्यसलाई सरकारको कार्यान्वयनमा ल्याउन नसकिने प्रवृत्तिले संसदप्रतिको जनविश्वास घटिरहेको बताएका छन् ।
‘सांसदले समस्या उठाउने, मन्त्रीले जवाफ दिने तर कार्यान्वयन नहुने समस्या वर्षौंदेखि दोहोरिएको छ,’ सभामुख दाहालले भने, ‘यसले संसदको प्रभावकारितामाथि प्रश्न उठाएको छ ।’
उनले सांसदहरूलाई नीतिगत बहसमा सक्रिय, सरकारलाई जवाफदेही बनाउने, र जनतासँग गरिएका वाचा पुरा गर्नेतर्फ केन्द्रित हुनुपर्ने बताएका छन् ।
‘दुई–चार करोड बजेट आफ्नो क्षेत्रमा लैजाने मात्र हो सांसदको भूमिका भने जनताको अगाडि हामी असफल ठहरिन्छौँ,’ सभामुख दाहालले भने, ‘जनजीविका, राजनीतिक परिस्थिति र देशको आर्थिक अवस्था सुधारमा संसदले प्रभावकारी भूमिका खेल्नुपर्छ ।’
अध्यक्ष दाहालले संसदप्रति जनताको विश्वास अभिवृद्धि गर्न सांसदहरूको संलग्नता र जिम्मेवारीबोध आवश्यक रहेको स्पष्ट पारे । सरकारलाई संसदप्रति समयमै जवाफदेही र उत्तरदायी बन्न पनि उनले आग्रह गरे ।








