रास्वपाले बोलायो संसदीय दलको बैठक, भिजिट भिसा प्रकरणबारे थप रणनीति बनाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबारका लागि संसदीय दलको आकस्मिक बैठक बोलाएको छ । भोलि बिहान ९ बजे बस्ने बैठकमा भिजिट भिसा प्रकरणसँग सम्बन्धित पछिल्ला राजनीतिक तथा प्रशासनिक घटनाक्रमबारे गहन छलफल हुने पार्टीले जनाएको छ ।
रास्वपाका प्रवक्ता तथा प्रतिनिधि सभा सदस्य मनिष झाले बैठकको एजेन्डामा भिजिट भिसा काण्डसम्बन्धी सरोकार, गृहमन्त्रीको भूमिकाप्रति उठेको प्रश्न र पार्टीको आगामी रणनीति मुख्य विषय हुने जानकारी दिए । पछिल्लो समय भिजिट भिसाका नाममा अवैध आप्रवासनको माध्यम बनेको पाइएपछि सार्वजनिक चासो बढिरहेको छ । यस विषयमा गृह मन्त्रालयको संलग्नता रहेको आरोप लागेपछि रास्वपाले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसदीय अवरोध र दबाबमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
यद्यपि मन्त्रिपरिषद बैठकले भिजिट भिसा प्रकरणको छानबिनका लागि पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा समिति गठन गरेको छ, रास्वपाले उक्त समिति प्रती असहमति जनाउँदै छानबिन निष्पक्ष नहुने अडान लिएको छ । यसबीच रास्वपाले पार्टीको नीति र दावी स्पष्ट पार्ने उद्देश्यसहित संसदीय दलको बैठक आह्वान गरेको हो । बैठकपछि पार्टीको औपचारिक धारणा सार्वजनिक गरिने बताइएको छ ।








