कोरियाली सीप, प्रविधि, अनुभवलाई नेपालले अनुसरण गर्नुपर्छ : श्रममन्त्री

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले कोरियाली सीप, प्रविधि, अनुभवलाई नेपालले अनुसरण गर्नुपर्ने बताएका छन् ।
ललितपुरमा बिहीबार हामी एप सार्वजनिक कार्यक्रममा बोल्दै उनले छोटो समयमा नै कोरियाले फड्को मारेको र त्यसमा नेपाली कामदारहरूको समेत योगदान रहेको बताएका हुन् ।
उनकाअनुसार कोरियासहित विभिन्न मुलुकमा गएर नेपालीले काम गरिरहेका छन् । ती राष्ट्रको आर्थिक विकासमा नेपालीहरूले महत्त्वपूर्ण योगदान पुर्याएको बताउँदै श्रममन्त्री भण्डारी ती देशले नेपालीको योगदानलाई कदर गर्नुपर्ने बताए । उनकाअनुसार नेपाली श्रमिकले पनि नेपालमा फर्किसकेपछि विदेशको सीप, पुँजी, अनुभवलाई परिचालन गरी राष्ट्र समृद्ध बनाउन लाग्नुपर्छ ।
श्रममन्त्री भण्डारीले भने ‘हाम्रा श्रमिकले आफ्नो रगत, पसिना बगाएर काम गरिरहेका छन् । तर त्यो कामले गर्दा उनीहरूको मुलुकमा आर्थिक उन्नति, समृद्धि र विकास भइरहेको छ । त्यो विकासको साझेदार हामी पनि हौँ । त्यस कारण हाम्रा श्रमिकहरु सम्मानका पात्र हुनुपर्छ । सुरक्षित आप्रवाशनको व्यवस्था हुनुपर्छ । त्यो मुलुकले पाएका नागरिक सरह सेवा, सुविधा, पारिश्रमीक हुनुपर्छ ।’
उनकाअनुसार विदेशमा नेपाली कामदारलाई फरक दृष्टिले हेरिनु हुँदैन । ती राष्ट्रहरूले आफ्ना नागरिक सरह सेवा सुविधा दिनुपर्छ । भण्डारीकाअनुसार अहिले सरकारले विभिन्न देशसँग द्विपक्षीय श्रम सम्झौता गरिदैँछ । अन्तर्राष्ट्रिय फोरमहरूमा समेत सरकारले समान व्यवहारका लागि कुरा उठाइरहेको बताउँदै उनले नेपालीले सुरक्षित रूपमा काम गर्न पाउने अधिकारको सुनिश्चित गरिने बताए ।
उनकाअनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयको संरचना समेत विगतमा वैदेशिक रोजगार सम्बद्ध थिए । अहिले त्यसको पुनः संरचना गरेर अघि बढिरहेको बताए ।








